टर्किस प्रहरीले एम्नेस्टी इन्टरनेसनलकी राष्ट्रिय निर्देशक इदिल इसरसहित ८ शीर्ष मानवअधिकारवादीलाई पक्राउ गरेको छ । बुयुकादास्थित होटलमा भइरहेको डिजिटल सुरक्षा कार्यशालामा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जर्मनी र स्विडेनका दुई प्रशिक्षकसमेत छन् । पक्राउ गरिएकालाई कहाँ राखिएको छ भन्नेबारे केही बताइएको छैन । उक्त कार्यशाला नेदरल्यान्डको अधिकारवादी समूह हिभोसले आयोजना गरेको थियो ।
एम्नेस्टीले प्रहरीको छापा कुनै कारणबिना गरिएको बताएको छ । एम्नेस्टी इन्टरनेसनलका महासचिव सलिल सेट्टीले प्रहरीको कारबाही शक्तिको असीमित दुरुपयोग भएको र टर्कीमा मानवअधिकारवादीले भोगिरहेको खतरनाक परिस्थिति स्पष्ट भएको बताएका छन् ।
उनले एम्नेस्टीकी टर्की निर्देशक इदिलसहित पक्राउ परेकाहरूलाई बिनासर्त तत्काल रिहा गर्न पनि माग गरेका छन् । एम्नेस्टीका टर्की अध्यक्ष टानेर किलिक पनि प्रहरी हिरासतमा छन् । उनलाई २२ वकिलसहित गत ६ जुनमा पक्राउ गरिएको थियो ।
टर्कीमा २०१६ को जुलाईमा सैन्य ‘कु’ को प्रयास भएपछि राष्ट्रपति रेसेप तैयिप इर्दोगानले लगाएको संकटकाल अझै जारी छ । उक्त घटनायता अमेरिकामा निर्वासित धार्मिक नेता फेतुल्लाह गुलेनका समर्थक भएको आरोपमा दसौं हजार सरकारी कर्मचारीलाई पक्राउ गरिएको छ । गत अप्रिलमा भएको जनमत संग्रहले राष्ट्रपतिलाई शक्तिशाली बनाउने गरी संवैधानिक परिवर्तन गर्न बाटो खुला गरेको थियो ।
बीबीसी
प्रतिकृया दिनुहॊस