अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमानचालक दललाई सरकारकाे स्वागत

काठमाडौँ । सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमानचालक (पाइलट)लाई स्वागत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला विमान चालक दललाई स्वागत गरेका छन् ।

काठमाडौँ–दुबई–काठमाडौँ उडान भरेका महिला चालक दललाई हौसला र प्रोत्साहन दिलाउन पर्यटनमन्त्री विमानस्थल पुगेर स्वागत गरेका हुन् । महिला विमान चालकलाई विमानस्थलमा स्वागतपछि रासससँग कुराकानी गर्दै पर्यटनमन्त्री किरातीले नेपालको उड्डयन क्षेत्रको इतिहासमा पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेर नयाँ इतिहास कायम गरेको बताए ।

महिलाहरुको अन्तर्राष्ट्रिय उडानले पर्यटन मात्र नभएर मुलुकको समग्र क्षेत्रमा सकारात्मक सन्देश दिएको उनले उल्लेख गरे । ‘पर्यटनमा मात्रै होइ, यो उडानले नेपालकै उड्डयनको इतिहासमा पहिलोचोटि महिलाहरुले उडाएको जहाज ऐतिहासिक छ र आज एक सय १३औँ विश्व महिला दिवस भएकाले मैले उहाँहरु (महिला विमान चालक दल) लाई स्वागत तथा बधाई दिएको र उहाँहरुको मनोबल उच्च बनाउन विमानस्थल गएको हुँ’, पर्यटनमन्त्री किरातीले भने ।यो उडानमार्फत पनि महिलाहरुले देश समाजका लागि केही गर्न सक्छन् भन्ने प्रमाणित भएको मन्त्री किरातीले उल्लेख गरे । निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाडौँदेखि दुबई भएर पुनः काठमाडौँ) भरेका हुन् । पाइलटद्वय भावना पन्त र को–पाइलट सृृजना राउतको टोलीले काठमाडौँ–दुबई–काठमाडौँ उडान भरेको निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए ।

उनका अनुसार महिला चालक दलले आज निगमको एयरबस ‘ए’ ३२० जहाज दुबईबाट काठमाडौँको उडान भरेका हुन् । दुई महिला पाइलटले निगमको एयरबस ‘ए’–३२० जहाज गत फागुन २० गते राति ११ बजे काठमाडौँबाट दुबईका लागि उडान भरेका थिए । निगमको आजको दुबई–काठमाडौँ उडानको ‘ए’ ३२० जहाज पाइलट भावना पन्त र को–पाइलट सृजना रावतले उडाएका थिए । यो उडानका सबै क्रू मेम्बर महिला थिए । विमान परिचारिका (एयरहोस्टेस) समेत सबै महिला रहेको निगमले जनाएको छ ।

निगमले आफ्नो उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेको जनाएको छ । आज अन्तर्राष्ट्रिय महिला दिवसका दिनमा निगमले यो संयोग जुराएको हो । निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा गरी छ जना महिला पाइलट छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि सुनसरीको खनार तनावग्रस्त

काठमाडौं । सुनसरीको इटहरी–१३ स्थित खनारमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा …

प्रतिकृया दिनुहॊस