नियमित पढाइको माग गर्दा २२ विद्यार्थी निष्कासित !

काठमाडाैं । नियमित रूपमा पढाइ हुनुपर्ने माग गर्दा म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोलास्थित अमर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत २२ विद्यार्थी निष्कासनमा परेका छन् । विषयअनुसारका शिक्षकको व्यवस्था गरी नियमित पठनपाठन गराउन माग गरेका विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिको आइतबार बसेको बैठकले एक महिनाका लागि निष्कासन गरेको हो ।

विद्यालयले निष्कासन गरेपछि विद्यार्थी अध्ययनबाट वञ्चित भएका छन् । विद्यालयमा लामो समयदेखि विज्ञान र कम्प्युटर विषयका शिक्षक नहुँदा नियमित पठनपाठन नै प्रभावित भएपछि १० असोजमा तालाबन्दी गरेका थिए । विद्यालयमा अमर्यादित व्यवहार प्रदर्शन गरेको भन्दै कक्षा १० मा अध्ययनरत २५ जनामध्ये २२ जनालाई एक महिनासम्मका लागि निष्कासन गर्ने निर्णय भएको विद्यालयका प्रधानाध्यापक पृथबहादुर थापाले बताए ।

माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० को तयारी गरिरहेका विद्यार्थी निष्कासित भएपछि समस्या भएको छ । अमर माविमा गत जेठदेखि नै विज्ञान शिक्षक नहुँदा पढाइ भएको छैन । कम्प्युटर विषयका तत्कालीन शिक्षक रिम पाइजाले विद्यालय व्यवस्थापन समितिले तलब घटाएपछि असारदेखि अध्यापन गराउन छाडेका थिए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा म्याग्दीबाट कमल खत्रीले लेखेका छन्।

मासिक १५ हजार रुपैयाँमा शिक्षण गर्दै आएका पाइजालाई विद्यालयले १० हजारमा अध्यापन गराउन भनेपछि उनले पढाउन छाडेका थिए । सो विषयमा विद्यालयले विज्ञापनमार्फत नयाँ शिक्षक नियुक्त गरे पनि उनले समेत बीचैमा छाडेपछि पठनपाठन भएको छैन। विद्यार्थीले विद्यालयको समस्या र वास्तविकता नबुझेको प्रधानाध्यापक थापाको भनाइ छ।

अध्ययनको व्यवस्था गर्न गाउँपालिकाको निर्देशन
विद्यालय र व्यवस्थापन समितिले विद्यार्थीलाई अध्ययनबाटै वञ्चित गराउने गरी गरेको निर्णय तत्काल बदर गरी उनीहरूलाई सहज अध्ययनको व्यवस्था गर्न रघुगंगा गाउँपालिकाले निर्देशन दिएको छ।

स्रोतव्यक्ति बालकृष्ण उपाध्यायले विद्यालयले विद्यार्थीलाई आन्दोलन गरेको कारण निष्कासन गरेको जानकारी गराएलगत्तै वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रअलाई तुरुन्त बालबालिकालाई सहज अध्ययनको वातावरण मिलाउन निर्देशन दिइएको हो।

गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले भने, ‘जनप्रतिनिधिसमेतको उपस्थितिमा बसेको बैठकले गरेको निर्णय कानुनविपरीत छ, तत्काल निर्णय सच्याउन भनेको छु, यहाँबाट समेत टोली खटाएर थप समस्या बुझ्ने तयारी गरेका छौँ ।’

सो विद्यालय गत जेठमा कार्यालय सहयोगीलाई समेत विनाकारण हटाउने निर्णय गरेर विवादमा आएको थियो। वडाध्यक्ष देउप्रसाद पुनसमेतको उपस्थितिमा आइतबार बसेको व्यवस्थापन समिति बैठकले आन्दोलित विद्यार्थीलाई एक महिनासम्मका लागि निष्कासन गर्ने निर्णय गरेको थियो।

बालबालिकालाई अध्ययन नै गर्न नदिने गरी विद्यालयले गरेको निर्णय लज्जास्पद रहेको अभिभावकहरूको गुनासो छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस