अस्ट्रेलिया । जनसम्पर्क समिति अस्ट्रेलियाले कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलालाई सम्मान गरेको छ । जनसम्पर्क समितिले एक कार्यक्रमको आयोजना गर्दै नेतृ डा. संग्रौलालाई सम्मान गरेको हो ।
सो अवसरमा बोल्दै डा. संग्रौलाले प्रवासी नेपालीहरूको आवाजलाई प्रतिनिधित्व गर्दै दोहोरो नागरिकता विधेयकलाई नयाँ राष्ट्रपतिको आगमन पश्चात् पारित हुने विश्वास व्यक्त गरिन् । विषम राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिनुको कारण अहिले नयाँ परिस्थिति निर्माणमा खुल्दै आएको उनले स्पष्ट पारिन् ।
राजनीतिमा पद मात्र होइन त्याग, निष्ठा र इमानदारिता पनि महत्त्वपूर्ण रहने बताउँदै नेता संग्रौलाले पछिल्लो आम निर्वाचनमा नेपाली कांग्रेसका कैयौँ इमानदार कार्यकर्ताहरूले पार्टीका हितका लागि आफ्नो सपनालाई तिलाञ्जलि दिन बाध्य भएको तितो स्मरण सुनाइन् । उनले, विदेशमा बस्ने आमनेपालीहरु मुलुकको विकास निर्माणमा प्रत्यक्ष जोडिन सके मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण माध्यम बन्न सक्ने भएकोले नेपाल सरकारले त्यसतर्फ पहल गर्नु जरुरी रहेको सुझाइन् ।
अस्ट्रेलियामा रहेका डेमोक्रयाटहरुको भातृ संगठनका रूपमा रहेको जनसम्पर्क समितिको स्वागत कार्यक्रममा वरिष्ठ पत्रकार सुरेश आचार्यले मुलुकको पछिल्लो परिस्थितिमा कांग्रेस प्रमुख प्रतिपक्ष समेत बन्न नसकेको टिप्पणी गरे । उनले, कांग्रेसलाई माया गर्ने देश विदेशमा समेत कार्यकर्ता रहेतापनि त्यसको महत्त्व बुझ्न नसकेको प्रति आक्रोश पोखे । प्रेस स्वतन्त्रताको पक्षधरका रूपमा रहेको लोकतान्त्रिक पार्टीका हैसियतले कांग्रेसले खासै ठोस काम गर्न नसकेको उनको आरोप छ ।
कार्यक्रममा बोल्दै जनसम्पर्क समितिका पूर्व अध्यक्ष कृष्ण गिरीले दोहोरो नागरिकता र जनसम्पर्क समितिको सवालमा पार्टीको स्पष्ट धारणा आउन नसक्दा विदेशमा रहेका कार्यकर्ताहरू अलमलमा परेको गुनासो गरे । हामीले विदेशमा बसेर पार्टीमा लेबी बुझाएपनि पार्टीले न्याय संगत रूपमा समान व्यवहार गर्न नसकेको जिकिर गरे ।




