बागमतीका रिक्त तीन मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नहुने

काठमाडाैँ । बागमती प्रदेशका रिक्त तीन मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नहुने भएका छन् । बागमतीमा हिजो (शनिबार) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले हिजो बेलुका प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष संयुक्तरूपमा राजीनामा बुझाएका हुन् ।

पार्टीको निर्णयअनुसार राजीनामा दिइएको थापाले बताएका छन् । मुख्यमन्त्री निवासमा राप्रपाका थापासँगै पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले पनि राजीनामा दिएका छन् ।

तीन जना मन्त्रीले राजीनामा दिए पनि नयाँ गठबन्धनका तर्फबाट तत्काल मन्त्री नियुक्त नहुने भएका हुन् । राप्रपाले छोडेका तीन वटै मन्त्रालय अहिलेलाई मुख्यमन्त्री जम्मकट्टेलले सम्हाल्ने भएका छन् । नयाँ सत्ता समीकरणमा नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टी भित्रिएको भए पनि राष्ट्रपतिको चुनाव अघि नयाँ मन्त्री नियुक्त नहुने भएका हुन् ।

हिजो पार्टी केन्द्रीय कार्यालयमा बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै राप्रपाका चार जना मन्त्रीले राजीनामा दिएका थिए । साथै राप्रपाले प्रदेश सरकारमा दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री