चौधरी फाउण्डेशन र चिसापानी अस्पतालबीच सम्झौता

काठमाडौं । चौधरी फाउण्डेशन र चिसापानी अस्पतालबीच अस्पतालको सेवा सुदृढीकरण र स्तरोन्नतिका लागि सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमबीच नवलपरासी (पश्चिम) जिल्लाको बर्दघाट नगरपालिका २ मा रहेको अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पतालका रूपमा विस्तार गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

नवलपरासी (पश्चिम) जिल्लामा सुविधासम्पन्न अस्पताल नहँुदा स्थानीयवासीेले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन् । सामान्य बिरामी हुँदासमेत उपचारका लागि बुटवल र भैरहवा जानुपर्ने बाध्यता छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले निर्वाचनका बेला चिसापानी अस्पताललाई विशेषज्ञ सेवा सुविधासहितको अस्पतालका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । सोहीअनुसार अस्पताललाई नवलपरासी जिल्लाकै सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्न लागिएको हो ।

सम्झौताअनुसार अस्पतालमा सहज र झन्झटमुक्त आपत्कालीन र अन्य सेवा सुनिश्चित गरिनेछ । सातवटा क्षेत्रमा अस्पतालको स्तरोन्नतिका काम हुनेछन्, जसबाट बिरामीले स्थानीय तहमै भरपर्दाे स्वास्थ्य सेवा पाउनेछन् । अस्पतालमा २४सै घण्टा ल्याब सुविधा उपलब्ध हुने, शल्यक्रिया सेवासहितको बर्थिङ सेन्टरका साथै २४सै घण्टा आपत्कालीन सेवा सुनिश्चितता गरिने सम्झौतामा उल्लेख छ ।

त्यस्तै, ओपिडी दर्ताका लागि टोकन प्रणाली लागू गर्ने, आर्टिफिसियल लिम्ब (कृत्रिम हातखुट्टा) सेवा उपलब्ध गराउने र आगामी चार वर्षभित्र अस्पताललाई आत्मनिर्भर बनाउने बताइएको छ । अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन नगरपालिका, जनप्रतिनिधि, फाउण्डेशन प्रतिनिधि, अस्पताल प्रशासन सबैको प्रतिनिधित्व रहने गरी समिति गठन हुनेछ । सो अवसरमा सांसद चौधरीले चिसापानी अस्पतालको विशेषज्ञसहितको सेवा प्रवाहले स्थानीय नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री