काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणीय सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको छ । स्कटल्याण्डले दिएको २१३ रनको लक्ष्य पछाएको नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित ९५ रन बनाएका थिए भने करण केसीले अविजित ३१ रन बनाएका थिए । कप्तान पौडेल र केसीले नवौं विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए ।
नेपालका ब्याट्सम्यान कुशल भुर्तेल १, आसिफ सेख १२, ज्ञानेन्द्र मल्ल २१, कुशल मल्ल १७ रन, सन्दीप जोरा १ रन, सोमपाल कामी २ रन, दिपेन्द्र सिंह ऐरी ७ रन र सन्दीप लामिछानेले ९ रन बनाएर आउट भएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ४६.१ ओभरमा अल आउट हुदै २१२ रन बनाएको थियो ।
स्कटल्याण्डका लागि जर्ज मुन्सीले सर्बाधिक ६० रन बनाएका थिए भने माथ्यु क्रसले ४२रन बनाएका थिए । त्यस्तै ब्राण्डन म्याक मुलेनले ३१, कील कोएत्जर र क्रिस्टोफर म्याक ब्रिजले २२-२२ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले सर्बाधिक ४ विकेट लिएका थिए । सन्दीपले १० ओभरमा ४५ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै करण केसीले ३ विकेट लिए । करणले ८.१ ओभरमा ४२ रन दिएर ३ विकेट लिएका थिए ।
त्यस्तै कुशल मल्ल र ललित राजबंशीले एक एक विकेट लिएका थिए । योसँगै नेपालले यस सिरिजका चारै खेल जितेर सिरिज जितेको छ । यो जितपछि नेपालको आईसीसी क्रिकेट विश्वकप लिग टुमा २८ खेलमा २६ अंक भएको छ र छैटौं स्थानमा रहेको छ ।
प्रतिकृया दिनुहॊस