काठमाडौँ । ग्यास चुहिएर भएको आगलागीबाट घाइते भएका कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा शल्यक्रिया भएको छ । भण्डारीको दुवै खुट्टाको शल्यक्रिया गरिएको हो ।
दायाँ खुट्टामा गहिरो घाउ रहेका कारण अपरेसनमा समय लागेको थियो । दायाँभन्दा बायाँ खुट्टाको घाउ कम रहेको चिकित्सकले जनाएका छन् । अहिले चिकित्सकहरूले निगरानी गरिरहेको र त्यसपछि मात्र दोस्रो अपरेसन गर्ने नगर्ने भन्ने टुंगो लाग्ने चिकित्सकले बताएको भण्डारीका सहयोगी माधव न्यौपानेले जानकारी दिए ।
उनकाअनुसार अहिले सबै पारामिटर नर्मल छन् । ‘फोक्सोको तल्लो भागमा मात्र कार्बन मोनोअक्साइडको मात्रा देखिएको छ । तर यो तल्लो भागमा मात्र रहेकाले हृदयमा असर नपर्ने जानकारी डाक्टरबाट प्राप्त भएको छ,’ न्यौपानेले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो । काठमाडौँको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो ।सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ ।




