काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गरेका छन् । नेपाल जेसिसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले संसदको पहिलो दल कांग्रेस भएकाले राष्ट्रपतिमा आफ्नो दावी स्वभाविक भएको बताएका छन् ।
‘सन्तुलनका लागि राष्ट्रिय कांग्रेसले अघि सार्ने उम्मेदवारलाई बनाउन प्रयास गर्छौं र कांग्रेसकै उम्मेद्वार राष्ट्रपति बन्नुहुन्छ,’ नेता सिंहले भने । राष्ट्रपतिको विषयमा सत्ता गठबन्धनभित्र खटपट देखिएका बेला कांग्रेस सांसद समेत रहेका सिंहको दाबीलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनले कांग्रेसबाट राष्ट्रपतिको उम्म्दवार को भन्ने चाहिँ खुलाएनन् ।
पुस १० को सहमति अनुसार भन्दै एमालेले राष्ट्रपतिमा दाबा गरिरहेका छ भने माओवादी राष्ट्रपति राष्ट्रिय सहमतिमा बनाउनुपर्ने अडानमा छ । यो सहमति कायम गर्न प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच वृहत छलफल भएपनि अझै सहमति जुटेको छैन ।
नेता सिंहले राजनीतिमा सरकार परिवर्तनको विषय स्वभाविक हुने पनि बताए । संविधानले दिएका अधिकार कार्यान्वयनमा ल्याउन विधिको शासन कायम हुनुपर्नेमा जोड दिए ।



