फाइल फाेटाे

सत्ता गठबन्धनमा तिक्तता चुलिँदा हौसिँदै कांग्रेस

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वमा गठन भएको सरकारले विश्वास गुमाएलगत्तै संघको सत्ता गठबन्धन संकटमा फसेको छ । संघमा माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी विश्वासको मत दिने समयमा अनुपस्थित भएपछि मुख्यमन्त्रीले विश्वास गुमाएका हुन् ।

योसँगै सुदूर सरकारमा कांग्रेसको इन्ट्री मात्र भएको छैन, वर्तमान गठबन्धन अब कसरी अघि बढ्छ भनेर प्रश्न उठेको छ । प्रदेश सरकार गुम्ने अवस्था आएपछि सरकार सञ्चालनका लागि गठन भएको उच्चस्तरीय राजनीतिक संयन्त्र अनिर्णीतमात्र भएको छैन, सरकार ढलेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति निर्वाचनमा सहमति खोज्ने पूर्ववत् अडान पुनः दोहो-याएका छन् ।

राष्ट्रपति निर्वाचनका कारण सत्ता गठबन्धनमा खटपट आइरहेका बेला एमालेको सचिवालय बैठकले समेत गठबन्धन संकटतर्फ धकेलिएको निष्कर्षसहित जोगाउन अधिकतम लचक भएर प्रस्तुत हुने निर्णय नै गरेको छ । कांग्रेसले विश्वासको मत दिएपछि हौसिएका प्रधानमन्त्री प्रचण्ड भने सुदूर सरकार ढलिसक्दासम्म ढुक्क देखिएका छन् । नाउपा र एमालेसमेतले विश्वासको मत फिर्ता लिए पनि कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा आउने वातावरण बलियो बन्दै गएको भन्दै माओवादी गठबन्धन टुटे पनि संघीय सरकार जोगिनेमा ढुक्क छ । बिहीबार बसेको माओवादी केन्द्रको बैठकमा सम्बोधन गर्दै प्रचण्डले पार्टीका नेताहरूलाई समेत सत्ता गठबन्धनमा खतरा उत्पन्न भए पनि आफ्नो पार्टी सरकार जोगिनेमा ढुक्क हुनुपर्ने ब्रिफिङ गरेका छन् ।

एमालेका तर्फबाट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले सभाको विश्वास गुमाएर राजीनामा दिएलगत्तै कांग्रेसका कमलबहादुर शाहले मुख्यमन्त्रीको नियुक्ति लिइसकेका छन् । कांग्रेस नेताहरूले संघीय गठबन्धन भत्किने क्रम सुदूरपश्चिमबाट सुरु भइसकेको भन्दै कांग्रेस नेतृत्वको सरकारमा माओवादी केन्द्र पनि सहभागी हुने बताइरहेका छन् । तर, माओवादी केन्द्रका नेताहरूले भने यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

एमाले सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन टिकाइराख्न चुनौती खडा भएको भन्दै एमाले यसलाई जोगाउन लचक भएर अघि बढ्ने निर्णय भएको बताए । वर्तमान गठबन्धन निर्माण गर्न भूमिका खेलेको एमाले नै गठबन्धन चुनौतीमा रहेको निष्कर्षमा पुगेपछि राष्ट्रपति निर्वाचनअगावै नयाँ सत्ता समीकरण बन्ने आकलन सुरु भएको छ । कांग्रेस हौसिएको देखेर एमाले हच्किएको मात्रै छैन माओवादीसित सशंकितसमेत छ ।

प्रतिपक्षी दल कांग्रेसले भने गठबन्धन भत्काएर पुरानै गठबन्धन ब्युँताउने प्रयास सार्थक हुन थालेको प्रतिक्रिया दिएको छ । ‘सुदूरपश्चिमबाट भत्किन सुरु भएको छ, राष्ट्रपति निर्वाचनअगावै वर्तमान सत्ता गठबन्धनमा फेरबदल आइसक्ने छ,’ एक नेताले भने ।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले ढिलोचाँडो सरकारको नेतृत्व गर्ने दाबी गरे । शनिबार नुवाकोटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतले कांग्रेसलाई सत्ताबाहिर राखेकै कारणले देशको राजनीति अन्योलपूर्ण भएको जिकिर गरेका छन् । ‘सबैभन्दा ठूलो पार्टी भएर पनि कांग्रेस अहिले सरकारमा छैन,’ उनले भने, देशको विकास गर्ने पार्टी कांग्रेस हो । हामी ढिलोचाँडो फेरि सत्तामा आउँछौँ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन …

प्रतिकृया दिनुहॊस