काठमाडौँ । नेपाल चिकित्सक संघको आह्वानमा देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परेका छन् । सेवा बन्द हुँदा काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचारका लागि पुगेका/लगिएका बिरामीहरू मर्कामा परेका हुन् ।
बिरामी र तिनका आफन्त बिहानै टिकट लिन गएका थिए तर, आज ओपिडी सेवा बन्द भएको भन्दै अस्पतालका सुरक्षा गार्ड तथा कर्मचारीहरूले उनीहरूलाई फर्काइदिएका छन् । वीर, टिचिङ लगायतका अस्पताल पुगेका बिरामी र आफन्तहरू निराश हुँदै फर्किन बाध्य छन् ।
वीर अस्पताल पुगेका बिरामीका आफन्तहरूले त उपचार सेवाको माग गर्दै अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण केहीबेर यातायात सेवा प्रभावित भएपनि अहिले प्रदर्शन गर्नेहरूलाई प्रहरीले हटाएको छ ।
माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकलाई सुरक्षाकर्मीले लाठी प्रहार गरेर घाइते बनाएको भन्दै संघले आज एक दिन देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।




