काठमाडौँ । सरकार सञ्चालनका लागि बनेको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ । बैठक केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली, सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् । जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी शीर्ष नेता बैठकमा अनुपस्थित भएका छन् । यी दलका नेता शुक्रबारको बैठकमा पनि गएका थिएनन् ।
जारी बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा सहभागी गराउने लगायतका विषयमा छलफल भइरहेकाे छ । यसअघि संयन्त्रको शुक्रबार बसेको बैठकमा पनि यी विषयमा छलफल भएको थियो । तर बैठक कुनै ठोस निश्कर्षमा भने पुग्न सकेको थिएन ।
एमालेलगायत ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड राष्ट्रपति पदमा राष्ट्रिय सहमतिको पक्षमा छन् । एमाले भने पुस १० गते भएको सहमतिअनुसार राष्ट्रपति पदमा एमालेबाट उम्मेदवार हुनुपर्ने अडानमा छ । गठबन्धनका अन्य दल पनि एमालेको अडानमा नजिक छन् ।
केही दिनअघि सभापति रवि लामिछानेको नागरिकता प्रकरण र त्यसबापत् गुमेको गृहमन्त्री पदका कारण सरकार छोडेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा समावेश गर्ने बारे पनि छलफल हुने भएको छ। शुक्रबारको बैठकमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए । राप्रपाले पनि रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ ।




