सुदूरपश्चिमको मुख्यमन्त्रीमा काँग्रेसका शाह नियुक्त

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्रीमा नियुक्त छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले बहुमत गुमाएसँगै काँग्रेस संसदीय दलका नेता शाह नयाँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका हुन् ।

बिहीबार बसेको बैठकमा सक्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी अनुपस्थित भएपछि रावलले विश्वासको मत पाउन सकेनन्। मुख्यमन्त्री रावलले विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठुलो दलका हिसाबले काँग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बनेका हुन ।

उनलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । आज बेलुकी मुख्यमन्त्रीमा नियुक्त भएका शाहले भोलि पद तथा गोपनीयताको शपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश सभा बैठकमा सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य अनुपस्थित भएपछि मुख्यमन्त्री रावलले विश्वासको मत पाउन सकेनन् । जसले गर्दा उनको सरकारले पूर्णता नपाउँदै ३० दिनमा ढलेको छ ।

५३ सदस्यीय प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन । सुदूरपश्चिममा सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छन् ।

प्रदेशसभामा नेपाली काँग्रेसका १९, नेकपा एकीकृत समाजवादी ४ र एक जना स्वतन्त्र सांसद छन् । नेकपा माओवादी केन्द्र ११ (सभामुख सहित), नेकपा एमाले १० (उपसभामुख सहित), र राप्रपाका १ सांसद छन् । भने नागरिक उन्मुक्तिका ७ सांसद रहेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप