युनियन लाइफको साधारणसभाबाट मर्जर र बोनस प्रस्ताव पारित

काठमाडाैं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारणसभा बिहीबार भैरहवामा सम्पन्न भएको छ। सभाले सेयरधनीहरुलाई ८.९७ प्रतिशत बोनश दिने प्रस्ताव पारित गरेको छ। साधारणसभाले आर्थिक वर्ष २०७७।७८ को लागि सो बोनश सेयर दिने भएको हो।

बोनस सेयर वितरण गर्दा लाग्ने कर वापतको रकम सेयरधनी स्वयंले भुक्तानी गर्नुपर्ने प्रस्ताव पारित गरेको छ। सो साधारणसभाले कम्पनीको हालको सेयर संरचनाबमोजिम कायम रहेको चुक्ता पुँजीअनुरुप संस्थापक समूह तर्फको ७० प्रतिशत सेयरमध्ये १९ प्रतिशत सेयरलाई सर्वसाधारण समूहमा परिवर्तन गरी संस्थापक तथा सर्वसाधारण सेयरको अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेको छ।

यसैगरी युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक आपसमा गाभिने सम्बन्धमा भएको प्रारम्भिक सम्झौता पत्र, कम्पनीको सेयर रोक्का राख्ने गरी भएको निर्णय, कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्यांकन कार्य (डीडीए) गर्न लेखापरीक्षक/परामर्शदाता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने गरी भएको सञ्चालक समितिको निर्णयहरु समेत सभाले अनुमोदन गरेको छ।

त्यस्तै सभाले सञ्चालक समिति तथा उपसमितिको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ। यसैगरी सो साधारणसभाले संचालक समितिको बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र लेखापरीक्षककोे नियुक्त गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ। साथै कम्पनी ऐन बमोजिम आ.व. २०७७।७८ मा भएको खर्चको अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री