काठमाडौं । नाबालिका बलात्कार गर्ने तनहुँको एक वृद्धलाई जन्मकैदको फैसला भएको छ । यस्तो सजाय पाउनेमा भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्ध रहेका छन् ।
जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले वृद्धलाई बुधबार जन्मकैदको फैसला सुनाएको अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । मुद्दाको संवेदनशीलताले गर्दा पीडकको नाम खुलाइएको छैन । वृद्धलाई वि.सं. २०७७ असार १५ मा र साउन ४ मा ९, ११ र १२ वर्षीया गरी तीन जना बालिकालाई बलात्कार गरेको अभियोग लागेको तनहुँ जिल्ला अदालतले जनाएको छ ।
आरोपितलाई प्रहरीले २०७७ कात्तिक २ गते पक्राउ गरी जिल्ला कारागारको थुनामा राखेको थियो । सोही आरोपमा थुनामा रहेका १७ वर्षीय किशोरलाई भने अदालतले सफाइ दिएको छ । वि.सं. २०७७ कात्तिक २४ मा जबरजस्ती करणी अभियोगमा प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको स्रेस्तेदार कुँवरले जानकारी दिए । कुँवरका अनुसार आरोपित वृद्ध २०७७ कात्तिक अन्तिम सातादेखि पुर्पक्षका लागि थुनामा थिए ।




