बैंक खाताको विवरण सार्वजनिक भएकामा प्रेमप्रसाद आर्चायकी श्रीमतीको आपत्ति

काठमाडौं । आत्मदाह गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छन् ।

बैंक खाताको विवरणसहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाब भएको उनले बताइन् । बैंक खाताको स्क्रिन सट सामाजिक सञ्जालमा फैलिनुका साथै विभिन्न ठाउँबाट मानसिक यातना दिने काम भइरहेको उनको भनाइ छ ।

गृहजिल्ला इलाममा श्रीमानको दाहसंस्कारको कर्ममा रहेकी अधिकारीले खातामा जम्मा भएको रकमबारे आफू जानकार नभएको बताइन् । ‘मेरो श्रीमानले मलाई पैसा आवोस् भन्नकै लागि त्यो कदम चाल्नुभएको होइन । अहिले उहाँको नौ दिनको दाहसंस्कार कर्ममा छु, तर सामाजिक सञ्जालमा मानसिक तनाब दिने म्यासेस र पोस्ट आइरहेका छन्, यसले मलाई अझ विक्षिप्त बनाएको छ’, उनले भनिन् ।

उनले भनिन्, ‘मेरो खातामा पैसा हाल्न मैले कसैलाई व्यक्तिगत रुपमा आग्रह गरेको छैन । सहयोगी मनबाट सहयोग स्वरुप रकम जम्मा भएको होला, तर मलाई जथाभावी भाइरल बनाउने र दुष्प्रचार गर्ने काम भएको छ ।’ उनले आफनो गोपनियता भङ्ग गर्ने बैंक र कर्मचारीलाई काठमाडौँमा रहेका आफन्तको सहयोगमा उजुरी गर्ने बताइन् ।

सामाजिक सञ्जालमा नानुका अधिकारीको बानेश्वर शाखाको ग्लोबल आइएमइ बैंकको खाता नम्बर र त्यसमा जम्मा भएको रकमको स्क्रिीन सटहरु पोस्ट भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप