काठमाडौं । स्वर्गीय बालकृष्ण शिवाकोटीको ७९औँ जन्म जयन्ति तथा चौथो स्मृति दिवसका अवसरमा आज श्रीपञ्चमीको दिन जोरपाटी, काठमाडौंस्थित ईष्टपोल माध्यामिक विद्यालयमा उपत्यकाव्यापी कविता लेखन तथा वाचन प्रतियोगिता आयोजना गरिएको छ ।
बालकृष्ण शिवाकोटी स्मृति फाउण्डेसनले हरेक वर्ष श्रीपञ्चमीका दिन नेपाली भाषा तथा साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले कविता लेखन तथा वाचनसहित पुरस्कार वितरण कार्यक्रम आयोजना गर्दै आएको छ । श्रीपञ्चमीकै दिन स्वर्गीय बालकृष्ण शिवाकोटीको जन्मदिन पारेर यो कार्यक्रम आयोजना हुँदै आएको छ ।
बिहिबारको कविता लेखन तथा वाचन प्रतियोगितामा उपत्यकाका विभिन्न दश वटा विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए । कार्यक्रममा उत्कृष्ट कविता रचना तथा वाचन गर्ने तीन जना विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरियो ।
प्रतियोगीतामा डीएभी सुशील केडिया स्कूलकी एरिका प्रजापतीले प्रथम स्थान हासिल गर्दै नगद बीस हजार रुपैयाँ, लिभरपूल स्कूलकी अंशु वाग्लेले द्वितिय स्थान हासिल गर्दै १५ हजार तथा ईष्टपोल स्कूलकी प्रियंशा कार्कीले तृतिय स्थान हासिल गर्दै नगद १० हजार रुपैयाँसहित पुरस्कृत जित्न सफल भए ।
तीनै जना विजेताहरुलाई बालकृष्ण शिवाकोटी स्मृति फाउण्डेसनका अध्यक्ष शान्ता शिवाकोटीले नगद तथा साझा प्रकाशनका महाप्रबन्धक प्रल्हाद पोखरेलले प्रमाणपत्र हस्तान्तरण गरे । फाउन्डेशनले नेपाली भाषा, साहित्य तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित नेपाली भाषामा कविता लेखन तथा वाचन कार्यक्रम गर्दै आइरहेको फाउण्डेशनकी अध्यक्ष शिवाकोटीको भनाइ छ ।
अध्यक्ष शिवाकोटीले यस प्रकारका कार्यक्रम तथा पुरस्कारले नयाँ पुस्तालाई नेपाली भाषा तथा साहित्यप्रति आकर्षित गर्नुका साथै उनीहरुलाई नेपाली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सकारात्मक भूमिका निर्वाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
समारोहमा साहित्कार प्रभा भट्टराईले वाचन गरिएका कविताहरु मूल्यांकन गरेकी थिइन् । फाउण्डेसनकी अध्यक्ष शान्ता शिवाकोटीको सभापतित्वमा सम्पन्न समारोहमा साझा प्रकाशनको महाप्रवन्धक प्रल्हाद पोखरेल प्रमुख अतिथिको रुपमा रहेका थिए ।
कार्यक्रममा उच्च अदालतका पूर्व न्यायाधिश शेषराज शिवाकोटी, पूर्व प्रमुख जिल्ला अधिकारी जनार्दन अधिकारी, काठमाडौं वडा नम्बर ३१ मा रहेको काली नागेश्वर मन्दिरका संरक्षक बालगोपाल शिवाकोटी, ईष्टपोल स्कूलका प्रधानाध्यापक राजेश राई, स्व.बालकृष्ण शिवाकोटीका बहिनीहरु निर्मला उप्रेती, डा.गीता खरेल शिवाकोटी, फाउण्डेसनका कोषाध्यक्ष शोभा शिवाकोटी, सचिव नविन कुमार शर्मा लगायत विभिन्न साहित्यिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
शोभा शिवाकोटीद्वारा स्वागत मन्तब्य व्यक्त गरिएको समारोहमा गीता शिवाकोटी खरेलले स्व.बालकृष्ण शिवाकोटीको जीवनीका बारेमा प्रकाश पारेकी थिइन् ।



