काठमाडाैं । दरबारमार्ग क्षेत्रका व्यवसायीहरुले ट्राफिक समस्या नै नभएको क्षेत्रमा काठमाडौं महानगरपालिकाले पार्किङ हटाएर मनोमानी गरेको टिप्पणी गरेका छन्।
डेडिकेटेड पार्किङ लेनमा सवारीसाधान पार्किङ निषेध गरेर महानगरले काठमाडौंको व्यापारिक तथा पर्यटकीय गन्तव्यमाथि प्रहार गरेको उनीहरुको भनाइ छ।
दरवारमार्ग विकास बोर्डले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष सञ्जीव तुलाधरले पार्किङ हटाउने महानगरको निर्णयले व्यवसायमा ५० प्रतिशत गिरावट आएको उल्लेख गर्दै व्यवसाय नै बन्द गरेर सडकमा ओर्लनुपर्ने अवस्था सिर्जना भएको बताए।
अध्यक्ष तुलाधरले दरवारमार्गमा कुनै ट्राफिक जामको समस्या आफूहरुले कहिल्यै भोग्नु नपरेको उल्लेख गर्दै स्थानीय व्यवसायी र ट्राफिक प्रहरी मिलेर एक लेन पार्किङसहित चुस्त व्यवस्थापन गर्दै आए पनि महानगरलाई सह्य नभएकोमा आफूहरु आश्चर्यचकित र स्तब्ध भएको बताए।
बोर्डका निवर्तमान अध्यक्ष गोपालसुन्दर लाल कक्षपतिले भने ७० फिट चौडाइको सडकलाई बोर्ड स्थापनापछि पाँच लेनमा विभाजन गरी ट्राफिक प्रहरीकै संलग्नतामा एक लेन पार्किङका लागि डिजाइन गरिएको बताए।
‘हामीले पहिले निशुल्क पार्किङको व्यवस्था गर्यौं तर महानगरले स्मार्ट पार्किङका नाउँमा घन्टाको ८० रुपैयाँ असुल्न थाल्यो,’ उनी भन्छन्, ‘हामीले प्रतिघन्टा ४० रुपैयाँ कायम गर्न धेरै आग्रह गर्दा पनि सुनुवाई भएन, अहिले त पार्किङ नै हटाइयो।’
पार्किङ पुनर्स्थापनाका लागि आग्रह गर्न आफूहरुले मेयर बालेन शाहलाई पटकपटक भेट्न खोजे पनि मेयरले समय नदिएको उनको भनाइ छ।




