काठमाडौँ । मंगलबार मध्याह्न बानेश्वरको संघीय संसद् भवन अगाडि इलामका सूर्योदय नगरपालिका-११, फिक्कलका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ले आफैँलाई आगो लगाए । प्रहरीले तत्काल उद्धार गरेर उनलाई कीर्तिपुर अस्पतालको बर्न वार्डमा पुर्याए ।
तर उनी बाँचेनन् । आचार्यको उपचारकै क्रममा बुधबार बिहान निधन भयो । चिकित्सकहरूका अनुसार अस्पताल पुर्याउँदा उनको शरीरको लगभग ८० प्रतिशत भाग जलिसकेको थियो ।
आत्मदाहअघि सामाजिक सञ्जाल फेसबुकमा लामो नोट लेखेको सार्वजनिक भयो । नोटमा रंगिन सपना बुनेर परिवार, समाज र देशप्रतिको जिम्मेवार बहन गर्दै जाँदा अनेकौँ ठक्कर खानु परेको उल्लेख छ । आफ्नो आत्मवृत्तान्त र असफलताको कथा भन्दै लेखेको लामो स्ट्याटसमा स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीलाई पनि सम्बोधन गरेका थिए ।
उनै राज्यमन्त्री कार्की आचार्यलाई भेट्न अस्पताल पुगेकी थिइन् । यस्तो छ तोसिमा अस्पतालमा पुग्दा आचार्यसँग भएको कुराकानीको संक्षिप्त अंश :-
डा. तोसिमा : प्रेम दाइ, म आएको छु है, डाक्टर तोसिमा कार्की ।
आचार्य : मैले चिनेँ ।
डा. तोसिमा :अनि किन यस्तो गर्नु भएको छ तपाईँले ? मेरो नाम पनि लेख्नु भएको रहेछ !
आचार्य : मैले लेखेको छु, हजुरलाई पनि सम्बोधन गरेको छु । मैले सबै भोगाइहरू लेखेको छु । उद्यम गर्न खोजे । प्रगति गर्न खोजेँ । ट्याक्सको कुराहरू हेर्नुस् ।
डा. तोसिमा : मैले पूरा पढेँ तपाईँको स्ट्याटस, हेर्नुस् त तपाईँले के गर्नु भएको यस्तो । हामी थियौँ नि ! राज्य छ नि तपाईँहरूका लागि !
आचार्य : कसैले सुन्दैन । योभन्दा भएको कसैले सुन्दैन ।
डा. तोसिमा : हाम्रो नयाँ सरकार बनेको थियो, आउनु पर्थ्यो । केही न केही उपाय खोज्थ्यौँ ।
त्यसपछि आचार्यले बोलेको प्रष्ट बुझिएको थिएन ।
डा. तोसिमा : अहिलेसम्म राम्रो होस छ, नआत्तिनुस् न ।
आचार्य : मलाई ‘पेन किलर’ लगाइदिनुस् । रवि सरलाई पनि भन्दिनुस् ।



