काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ। सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. एकआपसमा गाभिएसँगै सेयर सूचीकरणबारे सबै प्रक्रिया पूरा भएसँगै सेयर कारोबार फुकुवा भएको हो।
दुवैले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालन गरिसकेका छन्। कम्पनीको एसजेएलआईसीको नामबाट सेयर कारोबार सुचारु भएको छ। नेपाल स्टक एक्सचेन्जले ओपनिङ्ग प्राईस ३७१.५९ रुपयाँ तोकेको थियो।
साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को सेयर संरचना संस्थापक समूहअन्तर्गत ७० प्रतिशत तथा सर्वसाधारण समूहअन्तर्गत ३० प्रतिशत रहेकोमा कम्पनीको साधारण सभाबाट निर्णय भई नेपाल धितोपत्र बोर्डबाट स्विकृति प्राप्त भए अनुसार धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१) मा रहेको ब्यवस्था बमोजिम लक इन पेरियड यथावत् रहने गरी कम्पनीको पुँजी संरचना संस्थापक समूहअन्तर्गत ५१ प्रतिशत तथा सर्वसाधारण समूहअन्तर्गत ४९ प्रतिशत रहने गरी अभिलेख भएको छ।
साबिक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को मर्जर हुँदा सेयर स्वाप अनुपात १००: ०.८२४५ अर्थात साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १ कित्ता सेयर बराबर १ कित्ता र साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. १ कित्ता सेयर बराबर ०.८२४५ कित्ता कायम हुन गएको हुँदा सोहीबमोजिम सेयरधनीहरुको नाममा सेयर कित्ता कायम भएको व्यहोरा कम्पनीले जानकारी गराएको छ।
सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स बिच भएको जीवन बीमा क्षेत्रकै पहिलो सफल मर्जर पश्चात बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आई एस ओ ९००१:२०१५ बाट सम्मानित भइसकेको छ। हाल कम्पनीको चुक्ता पुँजी ४.५४ अर्ब रहेको र कम्पनीले देशभर रहेका १८१ शाखा कार्यालयहरुबाट आफ्ना सेवाग्राहिहरुलाई सेवा प्रदान गर्दै आएको छ ।




