काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाहको कारण हिजोदेखिको निराशा र पीडाको परिणाम भएको बताएका छन् । मंगलबार सङ्घीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएपछि गृहमन्त्री लामिछानेले फेसबुकमा स्टाटस लेख्दै भर्खर आएका राजनीतिक दलहरुले उत्साह र आशा जगाउन नसकेको बताएका छन् ।
‘मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो’, उनले लेखेका छन्, ‘दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौं, म दोषी छु ।’ आचार्यको बुधबार बिहान कीर्तिपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
- यस्तो छ गृहमन्त्री लामिछानेको स्टाटस :
एउटा नागरिकले आत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौं । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो । दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु । प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला । तपाईंको आत्माले चीरशान्ति पाओस् ,परिवारलाई यो पीडा सहने शक्ति मिलोस् ।




