रविले राखे आफूलाई उपप्रधानमन्त्रीबाट हटाउने प्रस्ताव

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री हटाउने प्रस्ताव गठबन्धनमा गरिसकेको बताएका छन् । शनिबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

उनले गठबन्धनबाट उपप्रधानमन्त्रीले कुनै भार सरकारलाई नथपिने भएकाले राखेको भएपनि आफूले भने गठबन्धनबाट सहमति भएको खण्डमा उपप्रधानमन्त्री हटाएपनि तयार रहेको बताए । उपप्रधानमन्त्री सबैभन्दा पहिला आफ्नैबाट हटाउन शुरु गरेपनि तयार रहेको उनको भनाई छ ।
‘उपप्रधानमन्त्रीहरू बन्दै गएका कुराहरू छन् । यसले थप भार पार्ने भन्दापनि गठबन्धनबाट गर्ने भनिएको हो । हटाउने भएपनि सबैभन्दा पहिला मेरोबाट हटाइदिँदा हुन्छ, केही फरक पर्दैन,’ गृहमन्त्री लामिछानेले भने, ‘अभ्यास हो यो तर त्यसले धेरै कुनै ठूलो भार नपर्ने देखिएको छ । मैले प्रस्ताव राखेको छु, त्यसमा झुन्डिनुपर्छ जस्तो मलाई लाग्दैन ।’

गृहमन्त्री लामिछानेले आफूले सरकारबाट काम गर्दा नतिजा निकाल्नेगरी काम गर्ने दाबी गरे । उनले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई चाँडै समात्ने पनि दोहोर्‍याए । ‘हामी नतिजा निकाल्ने गरी काम गर्छौँ । प्रहरी प्रशासनले नटेर्ने भन्ने हुँदैन आफ्नो व्याख्या हो । विज्ञप्ति जानकारीका लागि गरिएको हो । के भइरहेको छ भन्ने जानकारी दिन आवश्यकता दिनुपर्ने भएकाले हो,’ उनले भने ।

मधेस आन्दोलनका क्रममा प्रहरी सई थमन थापाको हत्या अभियोगमा फरार रहेका कोइरी महोत्तरी १ बाट निर्वाचित भएका छन् । शनिबारको संसद् बैठकमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले नमानेकाले गृह मन्त्रालयले विज्ञप्ति निकाल्नुपरेको हो ? भन्दै प्रश्न गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री