काठमाडौं । अभिनेत्री आना शर्मा र अभिनेता अनमोल केसीको जोडीबारे एक समय निकै चर्चा चल्थ्यो । उनीहरूले नौं वर्षअघि फिल्म ‘जेरी’ मा स्क्रिन शेयर गरेका थिए । त्यसताका उनीहरूको अफस्क्रिन जोडीका रुपमा पनि चर्चा कायमै रहयो । उनीहरू प्रेममा रहेको खबर पनि बाहिरिए ।
तर लामो समय यी दुई सँगै देखिएनन् । यही बीचमा अनमोल सुपरस्टारका रुपमा उदाए । आनामा छायामै परिन् । अब भने उनीहरू पुनः सँगै देखिने भएका छन् । ‘जेरी’ कै सिरिजमा अनमोल र आना सँगै देखिने भएका हुन् ।
नौं वर्षपछि निर्माता सरोज न्यौपानेले फिल्मको सिरिज बनाउने भएका छन् । फिल्ममा अनमोल र आनाका साथमा पूर्णिमा सिंजापतिले पनि अभिनय गर्ने पक्का भएको छ । दुई नायिका र एक नायकको त्रिकोणात्मक प्रेम कथामा फिल्म बनाउने तयारी निर्देशक हेमराज बीसीको छ ।
फिल्मको छायांकन लुक्ला, सगरमाथाको आधार शिविर, अमेरिका र अष्ट्रेलियामा गर्ने तयारी निर्माताको भनाइ छ । सरोज न्यौपानेसँग फिल्म निर्माणमा रामकृष्ण श्रेष्ठले सहकार्य गर्ने भएका छन् ।



