काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गर्दै संघले उठाउँदै आएका माग सम्बोधनका लागि आग्रह गरेको छ ।
मंगलबार अर्थ मन्त्रालयमा भेटका अवसरमा एनआरएनएकी कार्यकारी अध्यक्ष रविना थापाले संघले गर्दै आएका लोककल्याणकारी तथा परोपकारी कार्य, नेपालमा गैरआवासीय नेपालीको लगानीलगायतका विषयमा अर्थमन्त्रीलाई जानकारी गराउँदै विदेशमा रहेका लाखौं नेपाली नेपालमा लगानीका लागि उत्साहित भए पनि विभिन्न कानुनी र नीतिगत कठिनाइका कारण समस्या परेको भन्दै समस्या समाधानका लागि ध्यानाकर्षण गराउनुभयो ।
एनआरएनए अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीको लगानी अभिवृद्धि गर्न नेपाली नागरिकसरह लगानीको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै सरकारसहितको लगानी भएको करिब १० अर्ब बराबरको एनआरएन नेपाल डेभलपमेण्ट फण्ड कम्पनी कार्यान्वयनमा देखापरेका कानुनी बाधा अवरोध हटाउन आग्रह गर्नुभयो ।
उहाँले गैरआवासीय नेपाली ऐनलगायत गैरआवासीय नेपालीसँग प्रत्यक्ष सरोकार राख्ने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र सोसम्बन्धी नियमावली तथा आदेशमा संशोधन गर्न र लगानी सम्बन्धमा विद्यमान न्यूनतम दुई करोडको मापदण्ड हटाउन पनि माग गर्नुभयो ।




