काठमाडाैँ । विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता बनेकी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित काभ्रेकी १७ वर्षीया किशोरी रञ्जिता दाहाल शंकास्पद अवस्थामा मृत फेला परेकी छन् ।
त्रिधार्मिकस्थल हलेसीस्थित महेन्द्रोद्धय माध्यमिक विद्यालयबाट आइतबार दिउँसो करिब ३ बजेतिर घर फर्कने क्रममा सम्पर्कविहीन बनेकी बालिका दाहाल सोमबार बिहान आफ्नै घर नजिकै रहेको खन्यु (घाँसजन्य वनस्पति) को फेदमा मृत फेला परेकी हुन् ।
महेन्द्रोद्धय मावि हलेसीको कक्षा–१० मा अध्ययनरत बालिका माघ–३ गतेदेखि विद्यालयमा आयोजना गरिएको नगरस्तरीय भलिबल, फुटबल र नृत्य प्रतियोगिताको तयारीका लागि गाउँकै साथीसँग विद्यालय पुगेकी थिइन् । प्रतियोगिताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साढे ३ बजेतिर घर फर्केकी थिइन् । बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दा हतार छ भन्दै रोटी बोकेर हिँडेकी बालिका घरभन्दा करिब २०० मिटर टाढा मृत फेला परेकी छन् ।
विद्यालयबाट घर फर्केकी छोरी बाटैमा मृत फेला परेपछि परिवार शोकमा परेको छ । घटनास्थलमा पातलो सलको टुक्रा घाँटीमा र एक टुक्रा सल रुखको हाँगामा रहेको अवस्थामा शव भेटिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए । ‘ओठ, आँखा, घाँटीमा चोट देखिएकाले घटनालाई शंकास्पद मानिएको छ’, उनले भने, ‘प्रहरी प्रशासनले कसैको दबाबमा नपरी सत्यतथ्य छानबिन गर्नुपर्छ । घटनाको अवस्था हेर्दा हत्या गरेर झुण्ड्याइएको हुनसक्छ ।’
घटनाको वियषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताए । बालिकाको शव परीक्षणपछि ‘हत्या गरेर झुण्ड्याइएको जस्तो बनाउन खोजिएको वा आफै झुण्डिएको’ भन्ने विषय अस्पतालको प्रतिवेदनमा खुल्ने प्रहरीले बताएको छ ।
बालिकाको शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने तयारी भइरहेको जनाइएको छ । बालिकाको शंकास्पद शव भेटिएपछि विद्यालयको कार्यक्रमसमेत स्थगित गरिएको आयोजकले जनाएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी क्षेत्रमा यसअघि विभिन्न समयमा सुगा राई र ज्ञानीमायाँ विश्वकर्माको हत्या भएको थियो । उनीहरू दुवैको हत्यामा संलग्न अहिलेसम्म पत्ता लागेको छैन ।
हलेसी क्षेत्रमा यसअघि भएको दुवै महिला हत्याको घटना बलात्कारपछि हत्या भएको नगर प्रवक्ता समेत रहेका वडाध्यक्ष गिरीले बताएका छन् । प्रहरी प्रशासनले शृङ्खलाबद्ध महिला हत्यामा संलग्न दोषी पत्ता लगाउन असफल भएपछि जिल्लामा हुने हरेक कार्यक्रममा प्रहरी प्रशासनको चर्को आलोचना हुँदै आएको छ ।



