माछापुच्छ्रे बैंकको सञ्चालक समितिमा डा. उपेन्द्र महतोसहित ३ जना निर्वाचित

काठमाडौं । माछापुच्छ्रे बैंकको २४औँ वार्षिक साधारणसभाले संस्थापक समूहका सेयरधनीतर्फबाट डा. उपेन्द्र महतो, रोशन केसी र हरिभक्त सिग्देललाई सञ्चालक समितिको सदस्यमा निर्विरोध निर्वाचित गरेको छ । बैंकले आव २०७८/०७९ मा १.६८ अर्ब खुद मुनाफा आर्जन गर्दै वासलात १३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

सोही अवधिमा बैंकको कुल निक्षेप १५०.१० अर्ब पुगेको छ भने कुल कर्जा १३१.२७ अर्ब पुगेको छ । साथै गत आवमा बैंकले लगानी २३.०८ प्रतिशतले वृद्घि गरी २४.१३ अर्ब पुर्‍याएको छ भने बैंकको निष्क्रिय कर्जा अनुपात १.०४ प्रतिशत कायम गर्न सफल भएको छ ।

साधारणसभामा बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले देशको आर्थिक स्थितिलाई मजबुत बनाउन बैंकतर्फबाट सक्दो योगदान पुर्‍याउने उद्देश्यका साथ निक्षेप तथा कर्जा लगानीलाई सन्तुलितरूपमा वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्ने बताउनुभयो । उहाँले विश्वभरि आर्थिक संकट आइरहे पनि नेपालको आर्थिक संकटका बेलामा सजग भएर काम गर्नुपर्ने बेला आएको बताउनुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले माछापुच्छ्रे बैंकले हाल देशका सातै प्रदेशमा १६५ शाखा, १५७ शाखारहित बैंकिङ सेवा, २०६ एटिएम तथा १० एक्सटेन्सन काउण्टरमार्फत् १४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जानकारी गराउनुभयो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री