कांग्रेसका गतिविधिले ओलीमा संशय, प्रचण्डसँग निरन्तर संवाद

काठमाडौँ । संसद्को ठूला दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई विश्वासको मत दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली चनाखो भएका छन् । कांग्रेसले पुरानै गठबन्धन ब्युँताउने कसरत गरेको चर्चाकाबीच ओली चनाखो भएका हुन् ।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँगको भेटलाई बाक्लो बनाएका छन् । अध्यक्ष ओलीले बिहानमात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रचण्डसँग भेट गरेका हुन् । भेटमा मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुख चयनसहित शक्ति बाँडफाँटका विषयमा कुराकानी भएको बताइएको छ ।

मन्त्रालय, राष्ट्रपति र उपराष्ट्रपति तथा सभामुख र उपसभामुखमा प्याकेजमै सहमति गर्ने पक्षमा दलहरू छन् । प्रमुख सत्ता साझेदार दलहरुबीच भागबण्डामा सहमति जुट्न नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । यसैमा सभामुख र राष्ट्रपति जस्ता पदमा नेपाली कांग्रेसले पनि दाबी गर्दा गठबन्धनमा संशय पैदा भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच पटक पटक जतिसक्दो चाँडो मन्त्री र मन्त्रालयको टुंगो लगाएर सरकार विस्तार गर्नेबारे छलफल हुँदै आएको छ । तर छलफलले मूर्तरूप भने पाउन सकेको छैन । प्रचण्ड ओलीबीच यसअघि बिहीबार छलफल भएको थियो भने बुधबार साँझ पनि ओली निवास बालकोटमा यी दुई नेताबीच छलफल भएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री