- डम्मर बम

राजनीति राज्य सञ्चालनसँग सम्बन्धित विषय हो । राजनीतिमा दर्शन हुन्छ, बिचार हुन्छ, मार्ग निर्देशन गर्ने सिद्धान्त हुन्छ । देशको स्रोत साधन, अधिकार व्यवस्थापन र वितरणसँग राजनीति सम्बन्धित छ । यसले देशका नागरिकहरूको हक हित र अधिकारको संरक्षणका लागि काम गर्छ । राजनीतिमा महिला र पुरुषको अर्थपूर्ण सहभागिता आवश्यक छ ।
राज्यका हरेक निकायमा महिला सहभागिता ३३ प्रतिशतले संविधानले व्यवस्था गरेको छ । प्रत्यक्ष रुपमा महिला उम्मेदवारको संख्या कम देखिने गर्छ । यसपालीको संघीय निर्वाचनमा पनि उत्साहजनरुपमा महिलाको संख्या धेरै देखिएन । प्रत्यक्ष निर्वाचन जित्नसक्ने क्षमता राख्नेहरु पनि समानुपातिकमा सिट सुरक्षित गर्नतर्फ लागेको देखियो ।
अहिलेको अवस्थामा महिला शसक्तीकरण र सबलीकरण एकदमै आवश्यक छ । महिला वा पुरूषको जीवनमा सामाजिक, आर्थिक, सांस्कृतिक परिवर्तनका लागि राजनीतिक निर्णयले ठूलो भूमिका खेल्छ । अहिलेको अवस्थामा स्थानीय निकायदेखि विश्वस्तरसम्म महिला नेतृत्व र राजनीतिक सहभागिता सक्रिय रुपमा बढेको देखिन्छ । तरपनि संसद् होस चाहे निजामती सेवा, निजी क्षेत्र र अन्य क्षेत्रमा महिलाहरूको जुन किसिमको सहभागिता हुनुपर्ने हो त्यो कम नै छ ।
लोकतान्त्रिक शासन प्रणालीमा महिला र पुरूषको समान सहभागिता हुनुपर्दछ, जसले मुलुकमा असल शासन बनाउन मद्दत गर्दछ । महिला र पुरूषको समान सहभागिता हुनु मुलुकको आवश्यकता हो । महिलाहरु राजनीतिमा लाग्नु सहज विषय होईन । परिवार, समाज हुँदै विभिन्न बारबन्धनको सामना गर्दै यो क्षेत्रमा लाग्नेहरु पहिलेको भन्दा संख्यात्मक हिसावले बढी छन् तर लामोयात्रा तय गर्नुपर्ने भएका कारण विभिन्न चुनौतीको सामना गर्दै अघि बढ्नुपर्ने बाध्यता छ । नवीन सन्देशका लागि हामीले केहि महिला नेतृसँग कुरा गरेका छौं । महिला राजनीतिमा लाग्नु किन आवश्यक छ ? तपाई राजनीतिमा किन लाग्नुभयो ?
ईश्वरी न्यौपाने, प्रतिनिधिसभा सदस्य, नेपाली काँग्रेस
महिलाहरु पनि राजनीतिमा आउनुपर्दछ । पछाडि बस्दा महिलाका मुद्दा ओझेलमा पर्दछन् । त्यसैले एउटा वर्ग जो समाज परिवर्तनको बाटोमा छ, त्योसँग होस्टेमा हैंसे गरेर अगाडि बढ्नुपर्दछ । राजनीतिमा पाउने केही होइन । मेरो बुवा मुक्ति सेनाको सिपाही हो । घर परिवार मेरो पुरै काँग्रेस हो । त्यसले गर्दा म सानैदेखि विद्रोही स्वभावको थिएँ । समाजका विभिन्न पाटोलाई अध्ययन गर्नुपर्छ । माइती होस् वा विहे गरेर गएको घरमा महिला र पुरुष बीच विभेद छ । चाहे राजनीतिक पृष्ठभूमिको परिवार नै किन नहोस् आजका दिनमा त हामीले छोराछोरीलाई फरक दृिष्टकोणले हेर्छौं भने झन् त्यो बेला निकै खाडल थियो । म जटिल परिस्थितिमा राजनीतिमा होमिएको हुँ ।
नीति निर्माण गर्ने ठाउँमा पुग्न सकिएन भने महिलाको आवाज कस्ले बोल्छ ? विपीको समयमा दुरदराज त्यो पनि सुदुरपश्चिमबाट एकजना द्धारिकादेवी ठकुराठी, एसियाकै महिला महिला मन्त्री बनेकी थिइन् । उनीलाई देख्ने काँग्रेस आँखा त्यसपछिका दिनहरुमा नियाल्छु । म आज पनि सुदुरपश्चिमबाट महिलाको प्रतिनिधित्व हेर्ने गर्छु । त्यहाँबाट हेर्दै गर्दा महिलाहरुलाई एक तिहाई आरक्षण भनौं या उपस्थिति प्रत्यक्ष वा समानुपातिक रुपमा राज्यका हरेक क्षेत्रमा सुनिश्चित गरिएको छ । तरपनि विभिन्न क्षेत्रका महिलाहरुमाथि विभेद भएका छन् । महिलाहरु विभेद बिरुद्ध लाग्नुपर्दछ । राज्यका हरेक क्षेत्रमा महिलाको समान प्रतिनिधित्व आवश्यक छ । त्यसपछि मात्रै समानतामूलक राज्यको निर्माणको परिकल्पना गर्न सकिन्छ । राजनीतिमा महिला पुरुषवीच विभेद हटाउनका लागि म राजनीतिमा लागेको हुँ ।
रामकुमारी झाँक्री, पूर्व शहरी विकास मन्त्री, नेकपा समाजवादी
राजनीतिक परिवर्तनले लामो ईतिहास बोकेको छ । हामी विभिन्न समयमा आमूल परिवर्तन गर्नका लागि सदैब लागि पर्याै । जसले देश र जनतालाई दीर्घकालीनरुपमा सकारात्मक दिशानिर्देश गरेको छ । निरकुंशताका विरुद्ध जनताको हक अधिकार स्थापित गर्न संघर्षको मैदानमा होमियाैँ ।
प्रत्यक्ष रुपमा आन्दोलनमा सहभागी भयौं । अहिले भएका परिवर्तन त्यो संघर्षको मैदानबाट लडेर ल्याएका हौं । ती उपलब्धिहरु कतिपय संस्थागत गर्न सकिए भने कतिपय त्यही संघर्षकै दौरानमा छन् । सामाजिक रुपमा भएका परिवर्तन, शिक्षामा भएको आमूल परिवर्तन, विभेदको अन्त्यलगायतका यी सबै अधिकार हामीले संघर्षबाटै ल्याएको हो । मेरो राजनीतिमा प्रवेश भनेकैं परिवर्तनका लागि हो ।
महेश्वरी कुँवर, यूवा नेता, नेपाली काँग्रेस
देश र नागरिकको हित गर्न, महिलाको समान पहुँच पुर्याउनका लागि महिलाहरु राजनीतिमा आउनु जरुरी छ । राजनीतिमा नहोमिकन विकास गर्न सकिदैन । अन्य क्षेत्रबाट पनि विकासमा हातेमालो गर्न सकिन्छ । तर सक्रिय राजनीतिबाट नै विकासका एजेण्डाहरु लैजान सकिन्छ । जबसम्म हामी राजनीतिमा सक्रिय भएर लाग्दैनाैँ तबसम्म सँधै अधिकारका लागि लडिरहनु पर्दछ ।
महिला हक अधिकार स्थापित गर्नका लागि महिलाहरु अगाडी आउनुपर्दछ । राजनीतिमा त्याग पनि जरुरी हुन्छ । सँधै पद पाउँदा मात्रै सक्रिय होईन की पद नहुँदा पनि निरन्तर लागिरहनुपर्छ । तर पदमा नभएसम्म एजेण्डा स्थापित गर्न नसकिने भएका कारण महिलाहरु नेतृत्वमा पुग्नु आवश्यक छ । व्यक्तिगत होईन, सामाजिक दायित्व बढी हुने भएकाले समय र परिस्थिति मिलाउन अप्ठेरो हुन्छ । समाज रुपान्तरणका लागि महिला राजनीतिमा आउनु आवश्यक छ ।
कमला वली, पूर्व राष्ट्रियसभा सदस्य, नेकपा एमाले
महिलाले चूलो चौकोमा मात्र सीमित हुनुपर्दछ भन्ने गलत परम्परालाई चिर्दै सबै ठाउँमा समान अवसरका लागि खुलेरै राजनीतिमा आउनुपर्दछ । शिक्षा, स्वास्थ्य, रोजगारी सबै क्षेत्रमा समान पहुँच पुर्याउनका लागि महिला सहभागिता अनिवार्य छ । यति मात्र होइन महिलाहरु प्रत्यक्षरुपमा निर्वाचित भएर नेतृत्वमा आउनुपर्छ । म एक ब्यवसायी पनि हो । जीवन जीउनका लागि मैले ब्यवसाय गर्दै आएको छु ।
तर राजनीति भनेको बिशुद्ध समाजसेवा हो । यसमा नाफा/घाटा हेर्नुहुँदैन । कानून बनाउने व्यवस्थापिकादेखि राज्यका हरेक अंगमा महिलाको समान पहुँच हुन जरुरी छ । जसका लागि मैले आफ्नो ठाउँबाट प्रयास गर्दै आएको छु । महिला सशक्तीकरणको प्रयास गरेको छु । म यो निर्वाचनमा प्रत्यक्षरुपमा निर्वाचनमा पनि उठें । अन्य महिलाले राजनीतिमा पनि यसैगरी अगाडी आउनुपर्दछ । महिला र पुरुष एक सिक्काका दुई पाटा हुन । तर अहिले पनि महिला र पुरुषले समान अधिकार पाएको देखिंदैन । त्यसकारण राजनीतिमा होमिनुपरेको हो ।
शान्ता चौधरी, पूर्व सभासद्, नेकपा एमाले
हरेक निकायमा महिलाहरुको सहभागिता अनिवार्य छ । त्यसकारण राजनीतिमा पनि महिला सहभागिता आफैमा अनिवार्य रहेको छ । जबसम्म महिलाहरु राजनीतिमा आउँदैनन् तबसम्म कुनै अर्थ रहदैन ।. ठूलो महिलाको जनसंख्या रहेकाले उनीहरुलाई वाईपास गरेर राजनीति सफल हुन सक्दैन ।
राजनीतिमा महिला सहभागिता अनिवार्य रहेको छ । म आफै पनि फरक समुदायबाट भनौं वा एउटा दासताको जंजीरबाट आएर राजनीतिमा होमिनु सहज त थिएन । आफुलाई बलियो बनाएर यस समुदायको प्रतिनिधित्व गर्न सक्छु भनेर राजनीतिमा आएको हुँ । यो समुदायलाई अगाडी बढाउन सक्छु भन्ने हेतुले म राजनीतिमा लागेको हुँ । पछाडि परेको समुदाय र महिला भएका हिसावले म राजनीतिमा आउनु पक्कैपनि परिवर्तनको द्योतक हो ।
सुनिता यादव, प्रदेशसभा सदस्य, मधेश प्रदेश, माओवादी केन्द्र
महिलाहरुको राजनीतिमा सहभागिता एकदमै आवश्यक छ । बर्षौंदेखि उनीहरु दोस्रो दर्जाको नागरिकका रुपमा बाँचिरहेका छन् । जनसंख्याका हिसाबले ५१ प्रतिशत छ तर समान अधिकार र पहुँचमा अझैपनि ३३ प्रतिशत पनि छैन । राज्यको हरेक अंगमा महिला सहभागिता न्यून छ । जनयुद्धकालीन समयमा सेनामा पनि महिलाको सहभागिता कम नै थियो । अन्य क्षेत्रमा पनि महिलाको सहभागिता धेरै थिएन । संसद्मा हामीले ५० प्रतिशत मागेका थियौ तर ३३ प्रतिशत दिइएको छ ।
आफ्नो एस म्यानलाई अवसर दिने प्रवृत्तिका कारण क्षमतावान् महिलाहरुले अवसर पाएका छैनन् । आफ्नो अधिकार प्रयोग गर्न सकिरहेका छैनन् । स्थानीय सरकारमा मेयर वा उपमेयर एकजना हुनैपर्ने व्यवस्था गरेका छौ । यो आफैमा महिलाका सवालमा सकारात्मक विषय हो । अर्कोतर्फ घरेलु हिंसाका विरुद्धमा जुन आवाज उठिरहेका छन, त्यो अधिकार स्थापित गर्न हामी लिडरसिप गरिरहेका महिलाहरु शसक्त भएर लाग्नुपर्दछ । सम्मानजनक अधिकारका लागि अरुलाई कसरी पे्ररित गर्न सक्छौं ? हाम्रै जीवनबाट अरुले के सिक्न सक्छन् ? पहिला त आफै परिवर्तन हुन सक्नुपर्छ । एकैपटक समाज परिवर्तन सहज त छैन तरपनि हामीले केही सकारात्मक शुरुवात गनैपर्छ । राज्यको नीति बनाउने ठाउँमा महिला आउनुपर्दछ । आफ्नो अधिकारका बारेमा बोल्न सक्नुपर्दछ । समाज परिवर्तनका लागि मैले राजनीति छनोट गरेको हुँ ।
- नवीन सन्देशबाट




