काठमाडौ । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । सोमबार आयोजित एक कार्यक्रमबीच लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौतासँगै दुवै बैंकले मर्जर प्रक्रिया अघि बढाउन संयुक्त मर्जर समितिसमेत गठन गरेका छन् । संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकतर्फबाट सञ्चालक डा. मनिष थापा र स्वति रुँगटा तथा सनराइज बैंकतर्फबाट सञ्चालक शारदा शर्मा र दिपक नेपाल रहेका छन् । दुवै बैंकको विस्तृत ड्यु डिलिजेन्स अडिटका लागि लेखापरीक्षक नियुक्ति पनि गरिने लक्ष्मी बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमतिपछि औपचारिकरूपमा मर्जर प्रक्रिया सुरु हुने बताइएको छ । लक्ष्मी र सनराइजको स्वाप रेसियो १ः१ अनुपातमा हुनेछ भने मर्जरपछि बैंकको नाम लक्ष्मी सनराइज बैंक हुनेछ । मर्जरपछि बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत दुवै लक्ष्मी बैंकले पाउनेछ ।
सनराइज बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ भने लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । मर्जरपछि बैंकको चुक्ता पुँजी २१ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ । लक्ष्मीको निक्षेप संकलन एक खर्ब ४२ अर्ब ६४ करोड र सनराइजको एक खर्ब २५ अर्ब १९ करोड रुपैयाँ रहेको छ । लक्ष्मीको कर्जा एक खर्ब ३७ अर्ब चार करोड र सनराइजको एक खर्ब १९ अर्ब ३७ करोड रुपैयाँ रहेको छ भने मर्जरपछि निक्षेप दुई खर्ब ६७ अर्ब ८३ करोड रुपैयाँ र कर्जा दुई खर्ब ५६ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ ।




