ग्लोबल र बीओकेले थाले एकीकृत कारोबार, ५७ अर्ब पुँजीसहित बन्यो नेपालकै ठूलो बैंक

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जरपछि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । काठमाडौँमा सोमबार आयोजित एक विशेष कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई बैंकको मर्जरपछि एकीकृत कारोबारको शुभारम्भ गरेका हुन्।

एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बैंकहरु ठूलो हुँदा ठूलाठूला परियोजनामा लगानी जुटाउन सहयोग पुग्ने बताए।‘बैंक मर्जर असाधारण काम हो, यो प्रसंशा योग्य छ । बैंक ठूला हुँदा ठूलाठूला परियोजनामा लगानी जुटाउन सहयोग पुग्नेछ । ठूला बैंकले मुलुकको दूरदराजसम्म नबिनतम बैंकिङ्ग सेवा र वित्तीय साक्षरता अभिवृद्धि गर्न काम गर्न जरुरी छ’, उनले भने।

प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्र सुधारउन्मुख रहेको र यसका लागि वर्तमान सरकार प्रतिवद्ध रहेको समेत बताए। साना व्यवसायबाट आफ्नो व्यावसायिक यात्रा सुरु गर्नुभएका ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र आफ्नो राजनितिक जीवनमा धेरै समानता रहेको बताउँदै प्रधानमन्त्री दाहालले मुलुककै सबैभन्दा ठूलो बैंकको अध्यक्ष बन्न सफल हुनुभएकोमा अध्यक्ष ढकाललाई बधाई तथा शुभकामना समेत दिए।

प्रधानमन्त्री दाहालले वर्तमान सरकार अर्थतन्त्र सुधारमा केन्द्रित रहेको र निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताए। ‘वर्तमान सरकार मुलुकको अर्थतन्त्र सुधार गर्न प्रतिवद्ध छ। हामीले हाम्रो पहिलो क्याबिनेट बैठकबाट नै मुलुकको अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ काम सुरु गरेका छौँ’, उनले भने।

नेपाल सरकारका मुख्य सचिब शंकरदास बैरागीले अर्थतन्त्रमा सकारात्मक सुधारको संकेत देखिएकोले निजी क्षेत्र हतोत्साहित हुनुपर्ने अवस्था नभएको बताए। ‘अर्थतन्त्रमा सकारात्मक संकेत र आर्थिक सूचकमा सुधार आएको छ । बैंकहरुको ठूलो मर्जरले वित्तीय क्षेत्रको स्थायित्वमा ठूलो योगदान पु¥याउन सक्छ’, उनले भने।

उनले नेपाल सरकार निजी क्षेत्रलाई साथमा लिएर, निजी क्षेत्रको मनोबल बढाएर अगाडि बढ्ने बताए। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुको मर्जरले बैंक तथा वित्तीय संस्थाहरु ठूला र सबल बन्दै जाँदा वित्तीय मध्यस्थता लागत कम हुँदै जाने बताए। उनले मर्जरले बैंकहरु ठूला बन्दै जाँदा बैंकहरुले स्वनियमनमा बस्नुपर्ने बताए।

उनले ठूला बैंकले एकल ग्राहक सीमामा आन्तरिक सिमा समेत कायम गरी साना तथा मझ्यौला ऋणिहरुलाई ऋण प्रवाह गर्नुपर्ने समेत बताए।

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली बैंकिङ्ग क्षेत्रका लागि आजको दिन एउटा ऐतिहासिक दिन रहेको बताउँदै यस मर्जरसँगै अधिकांश वित्तीय सूचकहरुमा ग्लोबल आइएमई बैंक नेपालको नम्बर वान बैंक बनेको बताए।

‘हुन त यसअघि पनि हामी धेरै सूचकमा नम्बर वान् नै थियौं तर आजको मर्जरपछि हामी झनै माथि उक्लिन सफल भएका छौं । यो मर्जरसमेत गरेर हालसम्म ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनीसहित कुल २१ वटा बैंक तथा वित्तीय संस्थाहरु एउटै संस्थाका रुपमा एकीकृत गरेका छौँ’, उनले भने।

अध्यक्ष ढकालले नेपाल राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि ग्लोबल आइएमई बैंकले त्यसलाई पछ्याउँदै अघि बढेको र सरकार तथा नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई कार्यान्वयनमा ल्याउने लिडर रहेको बताए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मर्जरले बैंक सबल बन्ने र सबल बैंकले अर्थतन्त्र सबल बनाउन सहयोग पुग्ने बताए। नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले ग्लोबल आइएमई बैैंकलाई सफल मर्जरको लागि शुभकामना व्यक्त गर्दै ग्लोबल आइएमई बैंकको नेतृत्वमा ब्याजदर घटाउन पहल गर्न आग्रहसमेत गरे।

बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले बैंकको पूँजीगत आधार विस्तार गर्दै क्षमता विकास गर्न मर्जरमा गएको बताए। उनले बैंकिङ्ग क्षेत्रप्रति आम जनताको विश्वास बढ्दै गएको बताउँदै यसले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकारात्मक भूमिका रहने बताए।

बैंक अफ काठमाण्डूका सञ्चालक तथा संयुक्त मर्जर कमिटिका संयोजक राधेश पन्तले मर्जरको पहिलो सम्झौता भएको ६ महिनाभित्र मर्जर सम्पन्न भएको बताए। दुवै बैंकका आआफ्नै विशेषता रहेको बताउँदै उनले मर्जरपछि बैंकको व्यवसायको लागत कम हुने बताए।

उनले ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जरपछि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ समारोहमा उपस्थित सम्पूर्ण विशिष्ट पाहुनाहरुलाई धन्यवाद व्यक्त गरे।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन्। त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन्।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बनेको ग्लोबल आइएमई बैंक लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भएका छन् ।

मर्जरपश्चात् बैंकको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब रुपैयाँ, कुल पूँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पूँजी ३५.७७ अर्ब रुपैयाँ, कुल निक्षेप ४ खर्र्ब १२ अर्ब रुपैयाँ, कुल कर्जा ३ खर्ब ७७ अर्ब रुपैयाँ भएको छ । मर्जरपछि बन्ने नयाँ बैंक कुल पंूँजी, चुक्ता पूँजी, शाखा सञ्जाल तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बनेको छ ।

दुई बैंकहरुको मर्जरपश्चात् कुल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरु, ४० लाखभन्दा बढी ग्राहकहरुसहित अन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई प्रत्येक शनिवार बिग मार्टमा आफूलाई …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds