अर्थमन्त्रीलाई प्रधानमन्त्रीले सोधे- ‘विमानस्थलले सरकारको निर्देशन किन पालना गरेन ?’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशबाट नेपाल फर्किदा व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइलका सम्बन्धमा नागरिकस्तरबाट गुनासो आएपछि त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले यसअघि पनि त्यस्तै निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीले निर्देशन दिए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले सोमबार अमेरिकाबाट नेपाल आएका नेपालीलाई मोबाइल ल्याउन रोक लगाएको समाचार सार्वजनिक भएको थियो ।

प्रधानमन्त्री दाहालले आज पुनः उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई त्यससम्बन्धमा आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । ‘आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कार्यबाही अघि बढाउन निर्देशन दिएको छ’, प्रेस संयोजक शर्माले भने ।

रोजगारीका सिलसिलामा विदेश गएका नेपालीले आफूसँग फर्किंदा दुई वटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीले निर्देशन दिएका थिए । प्रधानमन्त्री प्रचण्डले विदेशबाट ल्याइएका मोबाइलमा तत्काल कडाई नगर्ने निर्देशन पालना नगरिएकोप्रति आपत्ति जनाएका छन् ।

उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री विष्णु पौडेललाई मंगलबार बिहान टेलिफोनमार्फत निर्णय कार्यान्वयन नभएकोप्रति प्रधानमन्त्री प्रचण्डले चासो राखेका हुन् । साथै, उनले अर्थमन्त्री पौडेललाई फोनमार्फत तत्काल कार्यान्वयन मिलाउन निर्देशन दिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री