नव नियुक्त प्रधानमन्त्री प्रचण्डलाई चीन र भारतको बधाई

काठमाडौँ । नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छिमेकी मित्रराष्ट्रले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई नेपालमा रहेको चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई दिइएको हो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड हिजो प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज (सोमबार) पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।

नव नियुक्त प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माका अनुसार नेपालका लागि चीनका कार्यवाहक राजदूत वाङ सिन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत् बधाई दिएका हुन् ।

दुवै राजदूतले माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिँदै उनको कार्यकालमा दुई देशको सहकार्य र सम्बन्ध थप विस्तारित हुने बताएका थिए । चिनियाँ दूतावासका प्रवक्ताले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत् ‘नेपालको ४४औं प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष दाहाललाई बधाई’ भनेका छन् ।

भारतीय राजदूत श्रीवास्तवले पनि प्रधानमन्त्री प्रचण्डको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउँदै उचाइमा पुर्‍याउने बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री