काठमाडौं – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन १६६ जना सांसदको समर्थन रहेको पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दलहरूबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएपछि प्रचण्डसहितका नेताहरू शीतल निवास पुगेका थिए । प्रचण्ड, ओली, सीके राउत, उपेन्द्र यादवलगायत नेताहरू शीतल निवास पुगेका छन् ।
यसअघि राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय सीमा दिएकी थिइन् । जसअनुसार प्रचण्डले नेकपा एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर दाहाल शीतल निवास पुगेका हुन् ।
तेस्रोपटक प्रधानमन्त्री
योसँगै ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ । सत्ता गठबन्धनमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाडेपछि प्रचण्ड एमालेसँग सहकार्य गर्न पुगेका हुन् ।
यसअघि २०६५ भदौमा एमालेकै समर्थनमा प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यस्तै २०७३ साउनमा उनी नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका हुन् ।




