नेपालमै पहिलोपटक नबिलले सुरू गर्‍यो ‘एनबैंक’, कसरी प्रयोग गर्ने?

काठमाडाैँ । नबिल बैंक लिमिटेडले नेपालमै पहिलो पटक एनबैंक (नियो बैंक) सञ्चालमा ल्याइएको छ। बैंकले बिहीबार भर्चुअल कार्यक्रम गरी एनबैंक (नियो बैंक) को सुरूआत गरेको हो।

बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल, उपाध्यक्ष निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनबैंक एन्ड अपरेसनका नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मीले संयुक्त रूपमा एनबैंकको शुभारम्भ गरे।

‘योसँगै नबिल कम्प्युटराइज्ड बैंकबाट डिजिटल बैंकमा परिणत भएको छ,’ बैंकले भनेको छ, ‘मोबाइल बैंकिङ एपलाई पूर्ण रूपमा परिमार्जन गरी एनबैंकको शुभारम्भ गरेर नबिल डिजिटल बैंकिङको नेतृत्व गर्न सफल पहिलो बैंक भएको छ।’

नबिलले एनबैंकलाई एक छुट्टै भर्चुअल शाखाको रूपमा स्थापना गरेको हो।

बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले एनबैंकले जनताको बैंकिङ व्यवहारमा परिवर्तन ल्याउने र दीगो बैंकिङमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष चौधरीले भने, ‘एनबैंकको शुभारम्भसँगै अब बैंकिङ क्षेत्रमा परिवर्तनको नेतृत्व नबिल बैंकले गर्नेछ। ग्राहकहरूले जुनसुकै समय र स्थानबाट पनि डिजिटल बैंकिङ सेवाहरू प्राप्त गर्न सक्ने यो नवीन प्रविधिले बैंकिङमा नयाँ तरंग ल्याएको छ।’

उपभोक्ताले विश्वसनीयता र व्यक्तिगत अनुभवद्वारा मूल्यांकन गर्ने बताउँदै उनले थपे, ‘एनबैंक कुनै पनि भौतिक शाखाबिनाको निजीकृत भर्चुअल बैंकिङ हो।’

बैंकका अनुसार ग्राहकले आफ्नो मोबाइल फोनको सहायताले एनबैंकको उपयोगमार्फत् खाता खोल्ने, निक्षेप, ऋण, भुक्तानीजस्ता सबै परम्परागत बैंकिङ सेवाहरू सजिलैसँग लिन सक्नेछन्। एनबैंकले समय र लागतमा ठूलो बचत हुने बताउँदै उपाध्यक्ष चौधरीले अबको बैंकिङ भविष्य डिजिटल बैंक नै भएको बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले डिजिटल बैंकको नेतृत्व गर्न पाएकोमा खुसी व्यक्त गरे।

‘एनबैंकको औपचारिक शुभारम्भ भएको घोषणा गर्न पाउँदा म हर्षित छु। हामीले सबै डेटा माइग्रेसन र प्रणाली अपग्रेड पूरा गरेका छौं र आज नबिल स्मार्टबैंक एप उत्कृष्ट बैंकिङ अनुभवका लागि एनबैंकमा परिणत भएको छ।’

अनलाइन बैंकिङ रोज्ने ग्राहकलाई एनबैंकले आफ्नो खाता खोल्नेदेखि डिजिटल ऋण प्राप्त गर्नेसम्मका सेवा दिने उनले बताए।

नबिल बैंकका डिसिइओ विनयकुमार रेग्मीले नेपाली बैंकिङ उद्योगमा नवयुगको सुरूआत भएको बताए।

‘आज पूर्णतया डिजिटल बैंक, एनबैंक शुभारम्भ गरेर नेपाली बैंकिङ उद्योगमा नवयुगको सुरूआत भएको छ,’ रेग्मीले भने, ‘नबिल बैंकले डिजिटल प्रविधिमा अगुवाइ गरिरहेको छ। हामीले डिजिटल उत्पादन र सेवाहरू सिर्जना गरेका छौं जसले तपाईंको बैंकिङ सेवा लिने तरिकालाई पूर्ण रूपमा परिवर्तन गर्नेछ।’

के हो एनबैंक, कसरी प्रयोग गर्ने?

एनबैंक (नियो बैंक) मोबाइल बैंकिङ एपलाई पूर्ण रूपमा परिमार्जन गरेर नबिल बैंकले सुरू गरेको डिजिटल बैंक हो। यसपहिले नै नबिल स्मार्टबैंक एप प्रयोग गरिरहेका ग्राहकले अपडेट प्राप्त गर्छन् जहाँ लोगो ‘ए’ बाट एनबैंकको ‘एन’ मा परिणत हुन्छ। यसबाहेक, नयाँ र आधुनिक प्रयोगकर्ता इन्टरफेस प्रदान गर्न एपको लुक एन्ड फिल अपडेट गरिएको छ।

नबिल बैंकमा खाता नखोलेकाले पनि अब आफ्नो मोबाइलमा रहेको एनबैंक एपबाट बैंक खाता खोल्न सक्नेछन्। एनबैंकमार्फत् खाता खोल्न जम्मा ३० सेकेन्ड लाग्ने बैंकको दाबी छ।

एनबैंक एपबाट ग्राहकहरूले अब सिधै आफ्नो बैंक खाता खोल्नेदेखि ऋणका लागि आवेदन दिनसम्मका सम्पूर्ण गतिविधिहरू गर्न सक्नेछन्।

यस्ता छन् एनबैंकका प्रमुख ५ विशेषताः

१. तीस सेकेन्डमै खाता खोल्न सकिने

एनबैंक एपबाट ३० सेकेन्डभित्रै एनसेभिङ खाता खोल्न सकिनेछ। खाता खोल्न ग्राहकले आफ्नो नाम, जन्म मिति, इमेल ठेगाना, मोबाइल नम्बर र नागरिकता नम्बर मात्र भर्नुपर्नेछ। खोलिएको खाता ग्राहकहरूले आफ्नो केवाइसी अद्यावधिक गर्नुभन्दा पहिले १५ दिनका लागि सञ्चालन हुनेछ जुन उनीहरूले आफ्नो एनबैंक एपबाट सिधै गर्न सक्नेछन्।

२. डिजिटल ऋण

ग्राहकले आफ्नो एनबैंक एपबाट सिधै ऋणका लागि डिजिटल आवेदन दिन सक्छन्। नबिल फोन लोन र लोन अगेन्स्ट फिक्स डिपोजिट गरी दुई प्रकारका डिजिटल ऋण लिन सकिनेछ।

ग्राहकले आफ्नो ६ महिनाको कारोबार इतिहासको आधारमा नबिल फोनलोन प्राप्त गर्न सक्छन्। बैंकको अल्गोरिदमले उपयुक्त क्रेडिट सीमा निर्धारण गर्छ र योग्य ग्राहकले ऋणका लागि दर्ता गर्न सक्छन् र ग्राहकको एनबैंक एपबाट सिधै तोकिएको सीमासम्म आवेदन दिन सक्छन्। यसका लागि बैंक धाउनुपर्ने, अन्य कुनै कागजी कार्य गर्नुपर्ने छैन।

३. एन–रेमिट

नेपालभित्र पैसा पठाउने बाहेक विदेशमा बस्ने ग्राहकले एनरेमिट छनोट गरेर आफ्नो मास्टरकार्ड वा भिसा कार्डहरू प्रयोग गरेर आफ्नो अन्तर्राष्ट्रिय बैंकहरूबाट सिधै नबिल बैंकको खातामा पैसा पठाउन सकिनेछ।

प्रेषक र प्रापक विवरणहरूसहित (अमेरिकी डलरम) पठाइने रकम सहितको फारम मात्र भरे पुग्नेछ। प्राप्तकर्ताले केही सेकेन्डमा नबिल बैंक खातामा पैसा सिधै प्राप्त गर्न सक्नेछन्।

४. अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरेर दर्ता सुविधा

विदेशमा बस्ने ग्राहकले आफ्नो अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरी एनबैंक एपमा दर्ता गर्न र आफ्नो नबिल बैंक खाता सञ्चालन गर्न सक्नेछन्। विदेशमा बस्ने ग्राहकले नबिल बैंकबाट एसएमएस अलर्ट, ओटिपी, सूचनाहरू र समाचार र अलर्टहरू पनि प्राप्त गर्नेछन्।

५. २४ सै घन्टा, सातै दिन सेवा

बैंकले आफ्ना ग्राहकलाई बैंकको कस्टमर केयर सेन्टर र भिडिओ केवाइसी मार्फत् २४ सै घन्टा सेवा प्रदान गर्नेछ। एनबैंकको कुनै सेवा प्रयोग गर्दा आउन सक्ने समस्यालाई तुरुन्तै समाधान गर्ने मनसायले यो सुविधा सञ्चालन गरेको बैंकले जनाएको छ।

यसबाहेक ग्राहकले आफ्नो एपबाट सिधै बैंकिङ सेवाहरूको होस्टका लागि आवेदन दिन सक्छन्ः

क) नयाँ डेबिट कार्ड

ख) डेबिट कार्ड प्रतिस्थापन

ग) क्रेडिट कार्ड

घ) व्यक्तिगत ऋण

त्यस्तै निम्न सूचना सेवाहरू पनि एपबाट पहुँच गर्न सकिन्छः

क) सम्पर्क

ख) शाखाहरू/एटिएमहरू

ग) ब्याजदर

घ) विनिमयदर

ङ) इएमआई क्याल्कुलेटर

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध

काठमाडौँ । एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध …

प्रतिकृया दिनुहॊस