काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता चुन्न मतदान शुरु भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेर अगाडिबाट शुरू भएकाे मतदान बिहान १० बजेसम्म चल्नेछ । मतदान स्थलमा मतदाता (प्रतिनिधिसभा सदस्य)बाहेकलाई छिर्न दिइएको छैन ।
दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् । गगनलाई नेता शेखर कोइरालासहित महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेलले समेत साथ दिएका छन् भने देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायतको साथ रहेको छ ।
देउवा र थापाले मंगलबार नै मनोनयन दर्ता गरेका थिए । कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद छन् । तर मनाङबाट निर्वाचित टेकबहादुर गुरुङले भोट हाल्न पाउँदैनन् । अदालतमा मुद्दा विचाराधीन रहेकाले संस्थापन पक्षका उनी मतदानमा सहभागी हुने छैनन् । दलको नेता चयन हुनका लागि बहुमत ल्याउनुपर्नेछ ।



