हानिकारक बन्दै काठमाडौँको वायु, दीर्घरोगी र वृद्धवृद्धा जोगाऔँ

काठमाडौं । काठमाडौं उपत्यकामा जाडोसँगै वायु प्रदूषण बढ्दै गएको छ । आइतबार वायु प्रदूषण मापन सूचक (एक्यूआई) १५८ पुगेको छ । जबकि शुक्रबार यो सूचक १५६ सम्म पुगेको थियो ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ५० सम्म भएको वायुलाई स्वास्थ्यकर मानिन्छ । यस्तै, १०० भन्दा माथि एक्यूआई भएको वायुलाई विशेष समूहका लागि घातक मानिन्छ । त्यस्ता समूहमा छातीको समस्या भएका, वृद्धवृद्धा, मुटुसम्बन्धी रोग भएका तथा बालबालिका पर्दछन् ।

वायुको गुणस्तर सूचकांक (एक्यूआई)मार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । एक्यूआईले वायुमा हुने आँखाले देख्न नसकिने १० र २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई एकीकृत स्वरुपमा बुझाउँछ । एक्यूआई जति बढ्दै गयो, त्यति घातक मानिन्छ ।

काठमाडौंमा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्डभन्दा ५ गुणासम्म बढी हुने गरेको यसअघिको तथ्यांक छ । मंसिरबाट बढ्दै गएको प्रदूषणको मात्रा पुस र माघमा २.५ को मात्रा सबभन्दा अधिक हुने गरेको छ ।

डिसेम्बर पहिलो सातासम्म वर्षा हुुुनुपर्ने भए पनि तेस्रो सातासम्म पनि वर्षाको सम्भावना नहुँदा बाक्लो तुँवालो जमेर बसिरहेको मौसमविद् बताउँछन् । यो समयमा वर्षा हुनुपर्ने हो, तर कमजोर न्यून चापीय प्रणालीका कारण छिटफुटबाहेक तत्काल वर्षाको सम्भावना देखिँदैन । र, यो मौसममा ठूलो हावाहुरी पनि नआउने हुँदा बाक्लो तुवाँलो र सवारीजन्य धुलोधुवाँका कारण वायुमण्डल प्रदूषित भएको देखिएको मौसमविद् मञ्जु बासी बताउँछिन् ।

दीर्घरोगी र वृद्धवृद्धा जोगाऔँ
विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषण मृत्युको चौथो प्रमुख कारक हो । प्रदूषित वायुका कारण विश्वमा वार्षिक ७० लाख मानिसको मृत्यु हुने गरेको छ । ‘स्टेट अफ ग्लोबल एयर-२०२०’ का अनुसार नेपालमा वायु प्रदूषणजन्य रोगका कारण बर्सेनि ४२ हजार १०० जनाको मृत्यु हुने गरेको छ ।

अहिले बढ्दै गाएको वायु प्रदूषणलाई ‘एन्टी अक्सिजन पोलुसन’ भनिएको छ । अर्थात् वातावरणमा अक्सिजनको मात्रा कम हुनु र अन्य दूषित ग्यासहरु हावी हुनु । एन्टी अक्सिजन पोलुसनले छालाको बाहिरी तहलाई चाहिने भिटामिन ‘सी’ र ‘ई’को मात्रालाई घटाइदिन्छ । यसको परिणाम छालाको बाहिरी तहमा विभिन्न समस्या हुँदै यसको असर भित्रसम्मै पुग्छ ।

त्यस्तै, अचानक हुने यस्तोखाले मौसम परिवर्तनलाई मानिसको छालाले तुरुन्तै पचाउन सक्दैन । र, एलर्जी, छाला सुख्खा हुँदै जाने डिहाइड्रेसन, एक्जिमाजस्ता समस्या देखा पर्न सक्छन् । त्यसैले पनि यो प्रदूषणको समयमा सकेसम्म बाहिर नहिँड्न तथा हिँड्नैपरे छालाको लागि विशेष सुरक्षा कवच अपनाउन आवश्यक हुन्छ ।

जाडो बढेसँगै प्रदूषित हावापानीका कारण त्रिवि शिक्षण अस्पतालमा श्वासप्रश्वासका बिरामी बढेको बताउँछन् वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बम । ज्येष्ठ नागरिक, रोग प्रतिरोधी क्षमता कमजोर भएका नागरिकहरुका लागि प्रदूषित हावापानीका कारण संक्रमणले छिटो आक्रमण गर्ने, श्वासप्रश्वासमा समस्या निम्त्याउने तथा निमोनियाको सम्भावना बढाउने हुँदा सतर्कता अपनाउन उनको सुझाव छ ।

सामान्य अवस्थाका व्यक्तिलाई समेत प्रदूषित हावापानीले छाती घ्यारघ्यार हुने, लामो समय ज्वरो आउनेजस्ता समस्या निम्त्याउने भएकाले यस्ता समस्या देखिइहाले तुरुन्तै चिकित्सकको सल्लाह लिन डा. बम सुझाउँछन् ।

मर्निङवाक नजान आग्रह
वातावरणीय स्वास्थ्यविज्ञ यादव जोशीले आकाश धुम्म भएर प्रदूषण बढेका वेला मर्निङ वाकमा नजान सुझाव दिएका छन् । ‘धुलो र धुवाँका ससाना कण वायुमण्डलको तल्लो सतहमा तैरिरहेका हुन्छन्, जुन हाम्रो नाक, मुखबाट सीधै प्रवेश गर्न सक्ने हुन्छ,’ उनले भने, ‘दम, निमोनियालगायतका बिरामीलाई झनै असर गर्ने भएकाले मास्क अनिवार्य लगाउनुपर्छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री