सेयरकाे अवैध काराेबारबारे ज्ञानेन्द्रलाल प्रधान र गुरु न्यौपानेलाई स्पष्टीकरण साेध्ने बाेर्डकाे निर्णय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले जलविद्युत् प्रवर्द्धक ज्ञानेन्द्रलाल प्रधान र गुरु न्यौपानेले सेयरको अवैध कारोबार गरेको ठहर गरेको छ । नेशनल हाइड्रो डेभलपर्स कम्पनीको सञ्चालक समितिका अध्यक्ष प्रधान र रिडी पावर कम्पनीको सञ्चालक समिति अध्यक्ष न्यौपानेले कानुनविपरीत सेयरको कारोबार गरेको ठहरसहित बोर्डले दुवैलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

दुवैले आफू कम्पनीको सञ्चालक समितिमा रहेकै अवस्थामा आफ्नै कम्पनीको सेयर कारोबार गरेको पाइएको बोर्डका एक कर्मचारीले बताएका छन् । बोर्डको विभागीयस्तरबाट गरिएको अध्यक्षमा दुवै सञ्चालकले कानुनविपरीत सेयरको कारोबार गरेको पाइएपछि यी दुवैलाई स्पष्टीकरण सोधेर कारवाही अघि बढाउन बोर्डको सञ्चालक समितिमा उक्त विभागले सिफारिस गरेको थियो । विभागको सिफारिस अनुसार धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले दुवैलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

स्पष्टिकरणको चित्तबुझ्दो जवाफ नआए यी दुईविरुद्ध कारवाही प्रक्रिया अघि बढाउने बोर्डले जनाएको छ ।

धितोपत्र दर्ता निष्कासन नियमावलीमा ‘कुनै पनि सूचीकृत कम्पनीको सञ्चालक, कार्यकारी प्रमुखलगायतका पदाधिकारीहरुले पदमा रहँदा वा पदबाट हटेको १ वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत् त्यस्तो कम्पनीको सेयर खरिदबिक्री गर्न नपाइने’ व्यवस्था छ । तर, प्रधान र न्यौपानेले सञ्चालक समितिमा रहँदा र समिति छोड्नासाथ आफू संलग्न कम्पनीको सेयर कारोबार गरेको पाइएकोको बोर्डका ती कर्मचारीले जानकारी दिए ।

प्रधानले कम्पनीको अध्यक्ष पद छाड्नसाथ श्रीमती, छोरा र छोरीको नाममा रहेको ६ करोड रुपैयाँभन्दा बढी मूल्यको सेयर बिक्री गरेका थिए । त्यस्तै, रिडी पावरका अध्यक्ष रहँदा न्यौपानेले रिडी हाइड्रोपावरको २८ हजार ९५३ कित्ता सेयर किनेर ३९ हजार २२३ कित्ता सेयर बेचेका पाइएको छ ।

त्यस्तै, प्रधान र न्यौपानेले धितोपत्रको भित्री कारोबार (इन्साडर ट्रेडिङ) गरेकोसमेत हुनसक्ने आशंकामा बोर्डले अनुसन्धान सुरु गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री