एजेन्सी। कतारमा जारी विश्वकपमा पोर्चुगल क्वाटरफाइनलबाटै बाहिरिएसँगै पाँच पटकसम्म फिफा वर्ष खेलाडी क्रिस्टियानो रोनाल्डो खेलाडी जीवनमा विश्वकप उपाधिविहिन हुने पक्कापक्की भएको छ । ३७ वर्षका रोनाल्डोले अन्तर्राष्ट्रिय खेलाडी जीवनबाट सन्यासको घोषणा गरिसकेका छैनन् । आगामी विश्वकपमा उनीले खेल्ने सम्भावना कम छ। हिजाे शनिबार राति अफ्रिकी टोली मोरक्कोसँग १–० गोलले पराजय भएपछि रोनाल्डो भक्कानिएर राेएका थिए। उनीलाई प्रशिक्षक फर्नान्डो सान्तोसले दोस्रो हाफमा मात्र मैदान छिराएका थिए। मैदान छिरेलगत्तै पेपेले उनलाई कप्तान सुम्पिए पनि पोर्चुगलले पहिलो हाफमा १–० ले पछाडि परेको स्थिति सुधार्न र गाेल गर्न सकेन ।
लगातार कप्तानलाई बेन्चमा राख्ने सान्तोशको निर्णयले उनीहरुबीच पछिल्लो समय सम्बन्ध बिग्रिएको चर्चा चल्ने गरेकाे छ । सान्तोषले करियरको उत्कर्षमा आइपुगेका रोनाल्डोको सम्मान गर्न नसकेको भन्दै उनको आलोचना पनि भइरहेको छ। हालसम्म कहिल्यै विश्वकप जित्न नसकेको पोर्चुगल रोनाल्डोको करियरमा सेमिफाइनलसम्म मात्र पुग्यो। सन् २००६ को विश्वकपमा पोर्चुगल अन्तिम चरणसम्म पुगेको थियो। सन् २०१० र २०१८ मा प्रिक्वाटरफाइनलसम्म गएकाे थियो । सन् २०१४ मा समूहगत चरणबाटै बाहिरिएको थियो । रोनाल्डोले विश्वकप उपाधि जित्न नसकेतापनि विश्वकपमा विश्वकीर्तिमान भने बनाउन सफल भएका थिए।
लगातार पाँच विश्वकपमा गोल गर्ने एक्ला खेलाडी रहेका छन्। जारी विश्वकपमा एक गोल गरेका रोनाल्डोको विश्वकप गोलकाे संख्या ८ रहेको छ। उनी सिनियर अन्तर्राष्ट्रिय फुटबलका सर्वकालिन सर्वाधिक गोलकर्ता हुन् । यस्तै युरोपियन च्याम्पियन्स लिगका सर्वकालिन सर्वाधिक गोलकर्ता नै हुन्। क्लब करियरमा सात सयभन्दा बढी गोल गरेका रोनाल्डाले पोर्चुगलका लागि एक सय १८ गोल गरेका छन्। उनी क्लब र राष्ट्रका लागि समेत जोडेर करियरमा सबैभन्दा बढी गोल गर्ने विश्व कीर्तिमानी खेलाडी हुन्। सर्वकालिन महान् खेलाडीको बहसमा रहने गरेका रोनाल्डो र उनका समकालिन लियोनल मेस्सीबीच को बढी उत्कृष्ट भन्ने विवाद वषौँदेखि चल्दै आएको छ। रोनाल्डोका कतिपय कीर्तिमानलाई उनीभन्दा दुई वर्ष कान्छा मेस्सीले पछ्याएका छन्।
प्रतिकृया दिनुहॊस