काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार दिएका कांग्रेस युवा नेता प्रदीप पौडेलले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । आफ्नो क्षेत्रभित्र घरदैलो अभियानमा होमिएका उनले मतदाताको उत्साहजनक प्रतिक्रिया र सद्भाव पाएका छन् ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका प्रतिस्पर्धीलाई हराएर देशको विकास र समृद्धि, आवश्यक कानुन निर्माण, जनताका जल्दाबल्दा समस्या समाधानका लागि काम गर्न र आवाज उठाउन संसद्मा जाने उनको चाहना छ ।
सङ्घीय राजधानी, राजधानीजस्तो नभएकाले राजधानी बनाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए । नेता पौडेलले मुलुकलाई स्थिरता र सुशासन दिनका लागि आफ्नो उम्मेदवारी भएको बताए । सुशासन कायम गर्ने, भ्रष्टाचार शून्य गर्ने, नागरिकको विकासका लागि हामी काम गर्ने प्रतिबद्धतासमेत जनाए । गठबन्धनका प्रतिनिधिलाई चुन्दा पछुताउनुपर्ने अवस्था नआउने नेता पौडेलको दाबी छ ।
उनी भन्छन्, ‘यो राजधानीको केन्द्र हो, यहाँ हुने गतिविधिले देशलाई सन्देश प्रवाह गर्छ । यो मुलुकमा सुशासन कायम गर्नको निम्ति कतै खोट नदेखिने गरेर काम गर्नेछौँ । सुशासन कायम गर्ने, भ्रष्टाचार शून्य गर्ने, नागरिकको विकासका लागि हामी काम गर्नेछौँ । राजधानी राजधानी जसरी विकास हुन सकेको छैन । हामीलाई प्रतिनिधि बनाउँदा जनतालाई पछुताउनुपर्ने अवस्था आउनेछैन ।’
आफूसँग जितको आधार प्रशस्त रहेको बताएका पौडेललाई मतदाताले मज्जाले साथ दिएका छन् । दैनिक घरदैलोसहित चुनावी कार्यक्रम गरिरहेका पौडेल मतदाताको सद्भाव र सहयोगले आफू निर्वाचित हुनेमा विश्वस्त देखिन्छन् । मतदाताको घरदैलोमा पुग्दा युवाको आकर्षण र ज्येष्ठ नागरिकको सद्भाव र उनीहरूले दिने विजयीको शुभकामना र आर्सीवादले पौडेल आफ्नो जित सुनिश्चित रहेको बताउँछन् ।
बलिया प्रतिस्पर्धी
अहिलेसम्म कुनै पनि लाभको पदमा नपुगेका प्रदीपलाई कांग्रेसले ‘फ्रेस उम्मेदवार’को रूपमा प्रस्तुत गरेको छ । यससँगै प्रदीपलाई युवाहरूले पनि साथ दिएका छन् । नेविसंघको राजनीतिबाट निखारिएका नेता प्रदीप सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।
त्यसो त यो क्षेत्रमा एमालेले पनि जसपालगायतसँग तालमेल गरेको छ तर, ईश्वरभन्दा प्रदीप केही बलियो देखिन्छन् । अहिले सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीलगायत पाँच दल रहेका छन् ।
अर्को कुरा, स्वतन्त्र उम्मेदवारी दिएकाहरूले समेत प्रदीपको विरोध गरेका छैनन् ताकि अन्य नेताहरूको विरोध गर्दै यो क्षेत्रमा झण्डै दर्जन स्वतन्त्रले उम्मेदवारी दिएका छन् । अहिले युवाहरुले काठमाडौँ-५ मा प्रदीप जिताऔँ अभियान नै चलाएका छन् । यो क्षेत्रमा दुई पटकसम्म लगातार नेपाली कांग्रेसका नेता नरहरि आचार्यले चुनाव जितेका थिए । पटक-पटक चुनाव जितेका नरहरिपछि २०७४ को निर्वाचनमा अर्का कांग्रेस नेता प्रकाशशरण महत यो क्षेत्रमा उम्मेदवार बनेका थिए । तर, आचार्यको विरासत महतले जोगाउन सकेनन् ।
नेता आचार्यप्रति काठमाडौँ- ५ का मतदाताको सहानुभूति अझै कायम छ । अहिले आचार्यले प्रदीपलाई नैतिक समर्थन गरेका छन् । आचार्यले कांग्रेस बैठकमा गणतन्त्रको बहस गर्दा गगन थापा र प्रदीप पौडेलले सडकमा गणतन्त्रको नारा लगाएका थिए । नेता प्रदीपले अहिले ‘बीसीडी’को नारा बनाएका छन् । बीसीडी अर्थात् स्टप ब्रेन ड्रेन, फाइट करप्सन र सस्टेनेबल डेभलपमेन्टको नारा लिएर उनी चुनावी मैदानमा छन् ।
एमालेको आधार भनेको स्थानीय तहको निर्वाचन हो । स्थानीय निर्वाचनमा वडातहमा पाएको मतका आधारमा एमालेले काठमाडौँ-५ लाई सुरक्षित ठानेको छ । तर, स्थानीय र प्रतिनिधिसभा निर्वाचनलाई ठ्याक्कै तुलना गर्न मिल्दैन ।
यस्तो छ अङ्कगणित
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस उम्मेदवार प्रकाशशरण महतविरुद्ध १० हजारको मतान्तरले ईश्वर विजयी भएका थिए । तर, त्यो समय माओवादीको समेत समर्थन रहेको तत्कालीन वामपन्थी गठबन्धनका उम्मेदवार थिए ईश्वर पोखरेल । त्यो बेला ईश्वरले २३ हजार २९ मत प्राप्त गर्दा कांग्रेसका महतले १३ हजार ६९ मत प्राप्त गरेका थिए ।
तर, अहिले कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीलगायत पाँच दलीय गठबन्धन एकातर्फ छ भने एमाले, जसपालगायतसँग अर्को गठबन्धन छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडा तहको मतका आधारमा एमाले सत्ता गठबन्धनभन्दा केही मात्र अगाडि छ ।
स्थानीय तह निर्वाचनमा एमालेले १९ हजार ७०३ मत पाउँदा कांग्रेसले १४ हजार ८५३, एकीकृत समाजवादीले १ हजार ८ सय २७ र नेकपा माओवादी केन्द्रले १ हजार १ सय ६८ मत पाएका थिए । गठबन्धनका सहयात्री माओवादी र एकीकृत समाजवादीको उपस्थिति कमजोर छ । तर, अधिकांश वडामा आफ्ना उम्मेदवार रहेकाले स्थानीय तहको मतलाई आधार मान्न नमिल्ने विश्लेषकहरू बताउँछन् ।
स्थानीय तह निर्वाचनमा राप्रपाले २ हजार ८२२ मत पाएका थियो । काठमाडौँ-५ मा राप्रपाको तर्फबाट त्यहाँका प्रभावशाली व्यक्ति डा. रामप्रसाद उप्रेतीले टिकट पाएका छन् । व्यक्तिगत प्रभावका आधारमा उनले राम्रै भोट ल्याउने स्थानीयको विश्लेषण छ ।
यस्तै, यसै क्षेत्रमा रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’बाट डा. प्रणय शमशेर राणा उम्मेदवार छन् । स्थानीय चुनावको मत एउटा आधार भएपनि प्रतिनिधिसभा निर्वाचनको सन्दर्भ र उम्मेदवार फरक पर्ने भएकाले नतिजा कसको पक्षमा जाला भनेर ठ्याककै अनुमान गर्न कठिन छ ।
तर, यस निर्वाचनमा स्थानीय इन्जिनियर सुशान्त श्रेष्ठदेखि युट्युबर हेमराज थापासम्म स्वतन्त्र उम्मेदवार छन् । यस्तै, श्रीराम गुरुङ, विनीता अर्याल, बाबुराम पोखरेल, गोपीलाल न्यौपाने, विजक कँडेल, कृष्णलाल श्रेष्ठ, शान्तिराम पाण्डे, कुमार कोइराला, नारायणप्रसाद दाहाल, शैलेन्द्र बस्नेत, रमेश केसी लगायत १२ जना स्वतन्त्र उम्मेदवार छन् ।
स्वतन्त्र उम्मेदवारको बाढी आएपनि अहिलेसम्म सत्ता र विपक्षी गठबन्धनका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा देखिन्छ । र, स्वतन्त्र उम्मेदवारको बाढीले प्रदीप नै फाइदा पुग्नेसमेत स्थानीयको विश्लेषण छ । स्वतन्त्र उम्मेदवारहरूले खास ‘ह्वीम’ ल्याउन नसकेका कारणले पनि कांग्रेसका उम्मेदवार प्रदीपलाई फाइदा भएको उनीहरूको बुझाइ छ ।



