♦ सन्जिब दुलाल
भक्तपुर । नेपाली कांग्रेसका संस्थापक नेता तथा लेजेण्डरी अर्थमन्त्री स्व.सुवर्ण शमशेर राणा नभएको भए सात सालमा प्रजातन्त्र आउन मुस्किल रहेको सरोकारवालाहरुले बताएका छन् । सुवर्ण स्मृति परिषद्को केन्द्रीय कार्यालयको आयोजनामा भक्तपुरको सिपाडोलमा आयोजित ४५ औं स्मृति दिवस तथा सुवर्ण स्मृति ग्रन्थ बिमोचन कार्यक्रममा बक्ताहरुले राणाको सहयोगले नै नेपालमा प्रजातन्त्र आएको बताएका हुन् ।
कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका पुर्व उपकुलपति शाहले कांग्रेसका संस्थापक मध्येका एक नेता सुवर्णको उचित मूल्यांकन हुन नसकेको गुनासो गरे । सुवर्णको योगदानले नै सात सालको क्रान्ति सफल भएको बताउँदै उनले अहिलेका पुस्ताले सुवर्णलाई भुल्दै गएको बताए ।
२००७ सालको क्रान्ति सफल बनाउन करोडौं रुपँया खर्च गरेका राणाले आर्थिक सहयोग नगरेको भए प्रजातन्त्र आउन अझै समय लग्थ्यो उनले भने । सुवर्ण शमशेर त्यागी र निष्ठाले भरिपूर्ण नेता भएको उल्लेख गर्दै उनको सम्मानका लागि परिषद् स्थापना गरेर योगदानको चर्चा गर्नु प्रशंसनीय रहेको बताए ।
सुवर्ण शमशेरका आफन्त समेत रहेका पुर्वउपकुलपति शाहले त्रिबिबिका प्रथम उपकुलपति सुवर्ण शमशेर रहेकाले उनको पालामा तत्कालिन राजा महेन्द्रले कु गरेको स्मरण गर्दै आफु त्रिबिबिको उपकुलपति रहँदा पनि तत्कालिन राजा ज्ञानेन्द्रले राज्य सम्पुर्ण शक्ति आफ्नो हातमा लिएको स्मरण गरे ।
परिषद्का अध्यक्ष उद्धब ढुंगानाले आफ्नो सारा सम्पत्ति दान गर्न तयार रहेका र कांग्रेसका धेरै नेतालाई बन्दी जीवनमा रहँदा आर्थिक सहयोग गरेका सुवर्ण शमशेरले २०१५ सालमा कांग्रेसले बहुमत ल्याएको बखत बीपीलाई प्रधानमन्त्री बन्न आग्रह गरेर त्याग गरेको बताए ।
उनले कांग्रेस पछिल्लो समय सत्तामा केन्द्रीत हुँदा त्याग गर्ने नेता छायामा पर्ने गरेको बताए । सो अवसरमा परिषद्का महासचिब श्रीभद्र ओझा,सचिब सरु बाँनियाँ लगायतले सुवर्ण शमशेरमा इमानदारी र त्यागको गुण पर्याप्त रहेको बताउँदै नेपाली रानीतिमा उनी जस्ता त्याग गर्न सक्ने नेताको खाँँचो रहेको औल्याए ।
ग्रन्थमा कांग्रेसका संस्थापक सभापति तथा पुर्वप्रधानमन्त्री बीपी कोईरालादेखि बिभिन्न ५९ बिशिष्ट लेखकका सुवर्ण शमशेर बारेका लेख तथा उनीसँग सम्बन्धित ऐतिहासिक पत्र तथा फाटोहरु समाबेश छन् । परिषदले आगामी दिनमा सुवर्ण शमशेरका समकालिन ब्यक्तित्वसँगको उनको योगदान बारेको कुराकानी तथा उनले १७ बर्ष नेपाली कांग्रेसको सभापतिको जिम्मेवारी सम्हाल्दा भएका पार्टीका निर्णयहरुको दस्ताबेज सार्वनिक गर्ने तयारी गरेको जनाएको छ ।
कार्यक्रममा त्रिभुवन बिश्व बिद्यालयका पुर्व उपकुलपति नवीन प्रकाश जंग शाह तथा परिषद्का अध्यक्ष उद्धब ढुंगानाले स्मृति ग्रन्थको बिमोचन गरेका थिए ।




