मर्जर र प्राप्तिका लागि अब सेयर कारोबार बढीमा १५ दिन मात्र रोक्का

काठमाडौं । मर्जर र प्राप्तिमा जाने कम्पनीको सेयर कारोबार वर्षौँदेखि रोक्का हुँदै आएकामा अब यो समस्या हल हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले ‘संगठित संस्था एकापसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ लागु गरेसँगै अब यस्ता कम्पनीको सेयर कारोबार बढीमा १५ दिन मात्र रोक्का हुने भएको हो । उक्त निर्देशिका बिहीबार (आज)देखि लागु भएको छ ।

एकीकृत व्यावसायिक कारोबार गरेको मितिबाट गाभ्ने/गाभिने वा प्राप्तिको हकमा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि कम्पनीहरूले बढीमा १५ दिनसम्म कारोबार बन्द गर्न पाउने व्यवस्था बोर्डले गरेको छ । यसरी संगठित संस्थाले गाभ्ने/गाभिने वा प्राप्ति कार्य प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

सेयर कारोबार रोक्का राख्न मर्जर र प्राप्तिमा जाने सम्बन्धित कम्पनीले धितोपत्र बजारसमक्ष निवेदन दिनुपर्नेछ । यसरी प्राप्त भएको निवेदनको आधारमा धितोपत्र बजार सञ्चालक स्टक एक्सचेन्जले सम्बन्धित संगठित संस्थाको सेयर कारोबार रोक्का राख्नुपर्नेछ ।

यस्तै, मर्जर र प्राप्तिमा जाने कम्पनीले सम्बन्धित नियमनकारी निकाय वा प्रचलित कानुनले तोकेको सेयर स्वामित्व संरचना कायम हुने गरी मिलाउनुपर्नेछ । यस्ता कम्पनीले एकीकृत व्यावसायिक कारोबार सुरु भएको एक वर्षभित्र सेयर स्वाभित्व मिलाउनुपर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस