काठमाडौं । मोरङ ३ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपनि त्यहाँको निर्वाचन नसर्ने भएको छ । उम्मेदवारको निधनको औपचारिक जानकारी आएपछि आजबाटै निर्वाचन मनोनयन प्रक्रिया सुरू हुने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।
यहाँ कांग्रेसले अब अर्को व्यक्तिलाई मैदानमा सार्नुपर्नेछ । उनले भने, ‘निर्वाचन हुने मितिको सात दिनअघि उम्मेदवारको निधन भएमा निर्वाचन रोकिँदैन । हामीलाई औपचारिक जानकारी आउनासाथ आजैबाट मनोनयन प्रक्रिया सुरू गर्छौँ ।’
उम्मेदवार थापा प्रदेश १ का वन वातावरण तथा भूसंरक्षण मन्त्री समेत थिए । विराटनगरमा रहेको नोबेल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए ।
थापालाई गम्भीर प्रकारको निमोनिया देखिएको थियो । सुरूमा नोबेल मेडिकल कलेजमा भर्ना भएका थापाको स्वास्थ्य जटिल भएपछि काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएर उपचार गरिएको थियो । ह्याम्समा तीन साताको उपचारपछि निको भएपछ उनलाई विराटनगर लगिएको थियो ।
स्वास्थ्यमा सुधार भएपनि कमजोरीपनका कारण उनलाई विराटनगरमै फर्काएर निरन्तर अक्सिजनको सहयोगमा उपचार गरिएको थियो । चुनावका लागि कार्यकर्ता तथा मतदाता भेट्न मन गरेपछि थापालाई विराटनगर ल्याइएको थियो ।




