डडेलधुरामा देउवालाई एमालेको मौन समर्थन छ : नैनसिंह महर

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर पछिल्लो समय विशेष जिम्मेवारीसहित गृह जिल्ला डडेलधुराको चुनावी प्रचारमा छन् । प्रतिनिधि सभा निर्वाचनका लागि डडेलधुरामा कांग्रेसबाट प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेकोमा नेता महर गठबन्धनको पक्षमा माहौल सिर्जना गर्न गृह जिल्लामा खटिएका हुन् ।

मंगलबार बिहान डडेलधुरामा सञ्चारकर्मीसँगको कुराकानीमा महरले अहिले कांग्रेसको प्रतिस्पर्धी नै कोही नदेखेको प्रतिक्रिया दिए । ‘हुन त प्रतिनिधिसभा निर्वाचनमा देउवाविरुद्ध धेरैले उम्मेदवारी दिएका होलान् । अहिलेको ठूलो दल नेकपा एमालेले उम्मेदवारी फिर्ता गरेर प्रधानमन्त्रीज्यूलाई मौन समर्थन जस्तै गरेको छ,’ उनले भने, ‘माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि देउवालाई समर्थन गरेर भोट मागिरहेका छन् । अन्यलाई न उहाँ (देउवा)ले प्रतिस्पर्धी ठान्नुभएको छ । न त नेपाली कांग्रेसले नै ठानेको छ ।’

केन्द्रीय सदस्य महरले अहिले डडेलधुराको निर्वाचन गोलकिपर बिनाको फुटबल खेल जस्तै भएको बताए । ‘गोलकिपर नै छैन भने जाली च्यातिने सम्भावना बढी हुन्छ । डडेलधुराको निर्वाचन पनि नेपाली कांग्रेसका लागि प्रतिस्पर्धी बिनाको भइरहेको छ,’ उनले भने ।

संविधानको कार्यान्वयन र संविधानको रक्षाका लागि देउवा जित नै अहिलेको आवश्यकता भएको महरले बताए । ‘कांग्रेसले मुलुक र जनताप्रति कहिले घात गर्दैन । २०७४ सालमा कम्युनिस्टहरूलाई दुई तिहाइ मत दिएर ओलीको नेतृत्वमा दुई तिहाइको सरकार बनेकै हो,’ नेता महरले भने, ‘उहाँले न त सरकार जोगाउन सक्नु भयो न त पार्टी नै । उल्टै पटकपटक संसद्माथि प्रहार गर्नुभयो ।’

ओलीका कारण अन्यौलतातर्फ धकेलिएको मुलुकलाई कांग्रेसले नेतृत्व गएर एउटा गतिमा ल्याएर शान्तिपूर्ण रूपमा निर्वाचनको वातावरण बनेको महरको भनाइ छ । यी सबै कुराको मूल्याङ्कन गर्दै अग्रगामी वाम लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न उनले जनतालाई आग्रह गरेका छन् । कांग्रेसले नेतृत्व गरिसकेपछि बिग्रिएको विदेश सम्बन्ध तथा परराष्ट्र नीतिमा समेत सुधार आएको महरले प्रष्ट पारे ।

मंसिर ४ को निर्वाचनका लागि एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेलधुरामा देउवासँगै कांग्रेस बीपीका कर्णबहादुर मल्ल, राप्रपाका गोविन्द खडायत, जनता समाजवादीका श्याम सिनाल, स्वतन्त्र सागर ढकाल, विक्रमबहादुर शाही, कर्णसिंह रावल ‘मम्याल बाजे’ र लालबहादुर कठायत उम्मेदवार छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंमा दिउँसै घरबाट गरगहना चोरी

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-८ शिवचोक हत्यमोचन मार्गमा शुक्रबार दिउँसो चोरी भएको छ । लक्ष्मी …

प्रतिकृया दिनुहॊस