काठमाडौं – काठमाडौंको बानेश्वरमा अन्डरपास सडक निर्माण गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा कोटेश्वर र बानेश्वरमा अण्डरपास सडक निर्माण गर्ने घोषणाअनुसार अण्डरग्राउण्ड सडक निर्माण गर्न लागेको हो ।
पहिलो चरणमा बानेश्वरको अण्डरपास सडक निर्माण गर्न लागिएको छ । जसका लागि डिजाइन तयार गर्न कन्सल्टेन्ट हायर गरिएको सडक विभाग अन्तर्गतको गुणस्तर तथा विकास केन्द्रका सूचना अधिकारी इन्जिनियर सौरभ बज्राचार्यले बताए । ‘नयाँ अण्डरपास निर्माणका लागि हाल डिजाइन तयार पार्न कन्सलटेन्ट हायर गर्ने काम भएको छ । गत सोमबार हायरको सूचना निकालेका थियौं,’ उनले भने ।
अबको एक हप्तामा नयाँ कन्सलटेन्टसँग वर्ता भएर सम्झौता नै गर्ने तयारी भएको उनको भनाइ छ । यस्तै, सम्झौतापश्चात् कस्तो प्रकृतिको अण्डरपास निर्माण गर्ने भन्ने र लागत कति लाग्छ यकिन हुनेछ । सोहीअनुसार यो अण्डरपास सडकको लागत बारेमा पनि डिजाइन तयार भएपछि नै थाहा हुने उनको भनाइ छ ।
डिजाइनका लागि १८ महिनाको समय दिइनेछ । डिजाइन पूरा भएपछि सो डिजाइन हेरेर प्रतिक्रियापछि दुई साता फाइनल डिजाइनका लागि समय दिइने उहाँले बताउनुभयो । तर डिजाइन पूरा गर्न नै तीन महिना लाग्नेछ । बानेश्वरमा बन्ने अण्डरपास कलङ्कीमा हाल रहेको अण्डरपास सडकको मोडेलकै हुने बज्राचार्यको भनाइ छ ।
प्रतिकृया दिनुहॊस