काठमाडाैँ । काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माण हुने मदन भण्डारी विश्वविद्यालयको ‘माष्टर प्लान’ निर्माण सम्पन्न भएको छ । निर्माण प्रक्रिया अघि बढाउन वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को तयारी गरिने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण समितिले जनाएको छ ।
‘मदन भण्डारी विश्वविद्यालय विधेयक, २०७६’ गत असार तेस्रो साता परिमार्जनसहित सङ्घीय संसद्बाट पारित भएसँगै यसको निर्माण प्रक्रियाका लागि थप बाटो खुलेको हो । यस्तै दर्ताको दुई वर्षपछि पारित विधेयकमा ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय’ लाई ‘मदन भण्डारी युनिभर्सिटी’ नामाकरण गरिएको छ । प्राविधिक विषय मात्रै अध्यापन गराउन पाउने गरी विधेयक पारित गरिएको हो ।
विश्वविद्यालयको निर्माण प्रक्रिया अघि बढाउन (इआइए) को तयारी गरिने समितिका अध्यक्ष शम्भुप्रसाद अधिकारीले बताए । ‘विश्वविद्यालकको माष्टर प्लान बनिसकेको छ, अब इआइएका लागि बजेटको खोजी गरिरहेका छौं’, उनले भने । विश्वविद्यालयका लागि चीन सरकारले घोषणा गरेको अनुदान रकम नआउँदा इआइएका लागि समेत बजेट अभाव भएको अधिकारीले बताए । उनले भने, ‘नेपाल सरकारबाट बजेट मागेर इआइए थाल्नेछौँ ।’
विश्वविद्यालय काभ्रेको पाँचखालमा निर्माणका लागि यसअघि जग्गा अधिग्रहणको प्रक्रिया सकिएको छ । विश्वविद्यालय निर्माणका लागि आवश्यक जमिनमध्ये पाँचखाल नगरपालिकासहित नमोबुद्ध नगरको केही वडा समेटिएको छ । विश्वविद्यालयका लागि आवश्यक देखिएको करिब एघार हजार रोपनी सार्वजनिक जग्गा अधिग्रहणको काम गतसाल नै सकिएको जिल्ला मालपोत कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार पाँचखाल नगरको वडा नं ७, १० र १२ तथा नमोबुद्धको २ र ३ नं वडाको १० हजार तीन सय रोपनी सार्वजनिक जमिन विश्वविद्यालयको पूर्वाधार विकास समितिका नाममा दाखिल खारेज (हस्तान्तरण) भइसकेको हो ।
प्रतिकृया दिनुहॊस