तनहुँ-१ मा रामचन्द्र पौडेल कि एकबहादुर राना ? यस्तो छ अंकगणित

काठमाडौँ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा तनहुँमा पार्टीका आधिकारिक उम्मेदवारलाई स्वतन्त्रले चुनौती थपेका छन् । तनहुँ १ मा वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेल अंकगणितमा अघि देखिए पनि उनको जितमा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी र एमाले उम्मेदावार एकबहादुर राना मुख्य चुनौती भएका छन् ।

उसो त यो क्षेत्रमा पौडेल, जोशी र रानासहित १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । समाजवादी पार्टीका पासाङ थापामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोदकुमार घर्ती, नेपाल मजदुर किसान पार्टीका रामकृष्ण त्वायना, हाम्रो नेपाली पार्टीका प्रविण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कृष्णप्रसाद पौडेल, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापा, नेश्नलिष्ट पिपल्स पार्टीका ताज महमद मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीका हस्तबहादुर किचिम थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देल चुनावी मैदानमा छन् । स्वतन्त्रतर्फ जोशीसँगै रामचन्द्र कार्की, बेलबहादुर दरै र पृथ्वीनारायण श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् ।

०७४ को निर्वाचनमा पराजित भएका वरिष्ठ नेता पौडेल यो पटक चुनाव जित्ने दाउमा छन् । वरिष्ठ नेता पौडेललाई ‘हेभिवेट’ नेता भएको र सत्तारुढ गठबन्धनको साथ रहेकाले चुनाव जित्न सहज रहेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए । ‘स्थानीय तहको चुनावमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका वडाध्यक्षले पाएको मत चुनाव जित्नका लागि पर्याप्त छ, हाम्रो मुख्य प्रतिस्पर्धा भनेको नेकपा एमालेसँग हो’, खनाल बताउँछन् ।

नेकपा एमालेका जिल्ला उपाध्यक्ष हरिराज कँडेल दुई कांग्रेस नेताहरुको प्रतिस्पर्धाले एमाले उम्मेदवारलाई फाइदा हुने बताए । सुरुमा एमालेले उम्मेदवारी फिर्ता लिएर जोशीलाई समर्थन गर्ने योजना बनाएको भए पनि अन्तिम समयमा एमालेले रानालाई नै निरन्तरता दिएको थियो । रानाले आफू कार्यकर्ताको माझ लोकप्रिय रहेकाले चुनाव जित्नेमा आशावादी रहेको बताए ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा व्यास नगरपालिकाको प्रमुखमा गोविन्दराजका छोरा दीपकराजलाई एमालेले समर्थन गरेको थियो । त्यतिखेर जोशी कांग्रेसका वैकुण्ठ न्यौपानेसँग दुई सय ५२ मतको अन्तरले पराजित भएका थिए । अहिले जोशी र पौडेल प्रतिस्पर्धा गर्दा एमालेलाई फाइदा पुग्ने आकलन गरेका छन् ।

यस्तो छ स्थानीय तहको मतपरिणाम
गत स्थानीय तहको निर्वाचनमा प्राप्त मत विश्लेषण गर्दा पौडेललाई निर्वाचन जिल सहज देखिएको छ । स्थानीय तहको निर्वाचनमा धेरै पालिकामा कांग्रेका मेयरका उम्मेदवार विजयी भएकाले पौडेललाई चुनाव जित्न सहज भएको जिल्ला सचिव लक्ष्मीभक्त खनालले बताए ।

‘यो क्षेत्रमा पाँचवटा पालिका पर्छ । त्यसमा कांग्रेसले तीनवटा पालिका जितेको छ भने एउटामा माओवादीले जितेको छ। त्यो नतिजा हेर्दा पनि गठबन्धन बलियो देखिन्छ । त्यसैले पौडेललाई चुनाव जित्न सहज छ,’ उनले भने । व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका कांग्रेसले जितेको थियो । त्यसैगरी, आँबुखैरेनी गाउँपालिका गठबन्धनकै साझेदार माओवादी केन्द्रले जितेको थियो । बन्दीपुर गाउँपालिका एमालेले जितेको थियो ।

एमाले भन्दा गठबन्धन दल २१ हजार नौ सय ४२ भन्दा बढी मतले अगाडि छ। तर, जोशीलाई मिलाउन नसक्दा भने उनले धेरै मत कांग्रेसको घटाउने आकलन छ । गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका वडाध्यक्षले ३५ हजार तीन सय ४२, माओवादीले दश हजार चार सय ९७, एकीकृत समाजवादीले नौ सय ११ मत प्राप्त गरेको थियो ।

त्यस्तै, एमालेले २४ हजार आठ सय आठ मत ल्याएको थियो भने राप्रपाले दुई हजार ३० मत प्राप्त गरेको थियो । स्वतन्त्र र अन्य साना दलले पनि केही मत प्राप्त गरेका थिए । वडाध्यक्षले पाएको मतलाई आधार मान्दा गठबन्धन दल धेरै मतले अगाडि छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस