काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको २५६ केबिपिएस ब्याण्डविथ लिज लाइन अब स्वचालितरूपमा ५१२ केबिपिएस हुने भएको छ ।
टेलिकमले असोज १ गतेदेखि इन्ट्रानेट लिज सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रमोसनल अफर लागू गर्ने भएको हो।
कर्पोरेट ग्राहकले टेलिकमको आइपी नेटवर्क प्रयोग गरी आफ्नो मल्टिपल प्वाइन्टहरू कनेक्ट गर्न इन्ट्रानेट लिज सेवा उपयोग गर्न सक्छन् ।
यसअघि २५६ केबिपिएस ब्यान्डविथको लिज लाइन प्रयोग गरिरहेका ग्राहकको समयावधि सकिएपछि स्वचालित रुपमा ५१२ केबीपीएसमा अपग्रेड हुनेछ र नयाँ महसुल दर पनि सोही मितिदेखि लागू हुनेछ । ५१२ केबिपिएसको महसुल प्रतिमहिना १ हजार ६ सय रुपैयाँ कायम गरिएको छ ।
१ देखि १० एमबिपिएसको प्रतिएमबिपिएस २ हजार ७ सय, ११ देखि १०० एमबिपिएसको प्रतिएमबिपिएस २ हजार ४ सय र १०० एमबिपिएसभन्दा माथिको महसुल प्रति एमबिपिएस २ हजार १ सय रुपैयाँ तोकिएको छ । तोकिएको दरमा थप कर लाग्ने छ ।
यसैगरी, असोज १ देखि आगामी मंसिर २९ गतेसम्म ९० दिन वाइम्याक्स सेवाको प्रमोसनल अफरअन्तर्गत अनलिमिटेड डाटा प्याकेजलगायत प्याकेज उपलब्ध गराइनेछ ।
यसअन्तर्गत अनलिमिटेड डाटामा थप कर लाग्ने छैन भने भोल्युम वेस्ड प्याकेजमा थप कर लाग्नेछ । व्यक्तिगत प्रयोगकर्तालाई ५१२ केबिपिएस स्पिडको अनलिमिटेड डाटा भोल्युम १५ सय रुपैयाँमा उपलब्ध गराइनेछ भने गाउँपालिकाका लागि यही क्षमताको प्याकेज १ हजार रुपैयाँमा उपलब्ध गराइनेछ । सो प्याकेज चलाउने समयावधि एक महिना हुनेछ ।
त्यसैगरी २ एमबीपीएस गति सम्मको वाइम्याक्सको विभिन्न भोल्युम बेस्ड प्याकेज उपलब्ध गराइने छ ।
जस अनुसार १५ दिनका लागि ५ सय रुपैयाँमा १० जीबी, १ महिनाका लागि १ हजार रुपैयाँमा २० जीबी, ३ महिनाका लागि ३ हजार रुपैयाँमा ७० जीबी र ६ महिनाका लागि ६ हजार रुपैयाँमा १७५ जीबी भोल्युम उपलब्ध गराइने छ ।
१ बर्षका लागि १२ हजार रुपैयाँमा ५०० जीबी र २० हजार रुपैयाँमा १ हजार जीबी प्याकेज तथा १ वर्षे कर्पोरेट प्याकको रुपमा ३५ हजार रुपैयाँमा २३०० जीबी प्याकेज उपलब्ध गराइने छ ।
वाइम्याक्स प्रयोगका लागि आवश्यक डिभाइस यूएसबी डोंगल सहित बन्डलिङ गरेर पनि प्याकेज उपलब्ध गराइने छ । १ बर्षका लागि ६ हजार रुपैयाँमा २५० जीबी भोल्युम उपलब्ध गराइने छ । यूएसबी डोंगल निःशुल्क उपलब्ध गराइने छ ।
यसैगरी, संविधान दिवस २०७५ को अवसरमा कम्पनीले ‘कन्स्टिच्युसन प्याक २०७५’ अफर ल्याएको छ ।
असोज १ देखि १५ गते सम्म कर सहित १८ रुपैयाँमा सो प्याक खरिद गर्न सकिने छ । प्याक खरिद गरे पश्चात ७० मिनेट सम्म कम्पनीको जीएसएम तथा सीडीएमए मोबाइलमार्फत कम्पनीको नेटवर्क भित्र जति पनि कल गर्न, एसएमएस गर्न वा डाटा चलाउन सकिने छ ।




