काठमाडौँ । भगवानले पनि भन्छन् रे, ‘तँ आट म पुर्याउँछु ।’ साँच्चै आट भएपछि असम्भव भन्ने केही हुँदैन । यसलाई चरितार्थ गरेकी छन् –ललितपुरको हरिसिद्धिकी उषा थेबे राईले ।
उनी गृहिणी हुन् । घर व्यवहार त छँदैछ श्रीमानको गाई फार्म र तरकारी फार्ममा पनि सघाउँछिन् । त्यतिमात्रै कहाँ होर उनी महिला पठाओ राइडर हुन् । उषा बिहान ८/९ बजेदेखि राती ८ साढे ८ बजेसम्म धेरैलाई गन्तव्यमा पुर्याउँछिन् ।
आफ्नो कर्ममा गर्व गर्छिन् उनी । ‘नबिराउनु नडराउनु भन्छन् नि ! काम, काम नै हो र कामको म सम्मान गर्छु,’ उनी भन्छिन्, ‘महिलालाई कमजोर पात्रको रूपमा चित्रित गर्ने समाजलाई म जवाफ दिन चाहन्थेँ । त्यसैले केही त गर्नु थियो । पठाओले महिला राइडरलाई पनि अवसर दियो र आज म निर्धक्क अनि खुसीका साथ यो काम गरिरहेकी छु ।’
दुई सन्तानकी आमा उषा महिला वा विद्यार्थीहरू त महिला राइडरलाई भेट्दा झनै खुसी हुने उनी बताउँछिन् । उनी आफूजस्ता महिलालाई आत्मनिर्भर बन्न प्रेरित गर्दै भन्छिन्, ‘यहाँ अवसरहरू यत्रतत्र छन्, मात्र हामीले पहिचान गर्न सक्नुपर्छ । महिला अबला होइनन् हामीहरूसँग क्षमता छ, सिप छ । यहाँ पुरुषले गर्ने जुनसुकै काम महिलाले पनि गर्न सक्छन् । मात्र हामीले हिम्मत गर्नुपर्ने रहेछ ।’
महिला पनि पुरुष सरह काम गर्न सक्छन् । आत्मनिर्भर हुनुपर्छ भन्ने सोचका साथ अगाडि बढेकी उनी भन्छिन्- ‘श्रीमान् अथवा छोरा मान्छेमा निर्भर नभएर महिलाले पनि पुरुष जत्तिकै गर्न सक्छन् । मात्र आट र परिवारका साथ-हौसला चाहिन्छ ।’
करिब १ वर्षदेखि पठाओमा आबद्ध भएकी उनी दैनिक १८ सयदेखि २५ सयसम्म कमाइ हुने गरेको बताउँछिन् । पठाओमा आबद्ध भएपछि समस्या नभएको भएपनि कहिलेकाहीँ ठूला गाडी र बाइकहरूले पेल्ने गरेको अनुभव सुनाउँछिन् । ‘महिला राइडर भनेर हो कि !’ उनको प्रश्न छ ।
हेर्नुहोस् भिडिओ :-
प्रतिकृया दिनुहॊस