नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ।
राजधानीमा आज आयोजित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गोरखास्थित वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको परिचयात्मक तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनलाई सामान्य निर्वाचनका रुपमा मात्र नलिन सम्बद्ध नेता कार्यकर्तालाई आग्रह गर्नुभयो।
“मङ्सिर ४ को निर्वाचनमा प्रतिगमनले जित्ने कि अग्रगमनले जित्ने, सुशासनले जित्ने कि अराजकताले जित्ने भन्ने छ, यो सामान्य निर्वाचन मात्र होइन, अन्य निर्वाचनभन्दा भिन्न छ”, अध्यक्ष दाहालले भन्नुभयो, “यो निर्वाचनमा अग्रगमनलाई जिताउन पूरा तागतका साथ एकताबद्ध भएर लाग्नु पर्नेछ।” आर्थिक समृद्धिमार्फत जनताको मन नजितेसम्म राजनीतिक परिवर्तन दिगो हुन नसक्ने जिकिर गर्दै उहाँले अब विकास र समृद्धिको नयाँ यात्रा गोरखाबाटै सुरु हुने बताउनुभयो।
“नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर अब ढुक्कसँग जान सकिने वातावरण बनाउनु पर्नेछ। अब यो राजनीतिक प्रक्रियाको सफलताका निम्ति आर्थिक विकास अपरिहार्य शर्त हो”, गोरखा क्षेत्र नं २ का उम्मेदवारसमेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, “यदि हामीले जनताको दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा सुरु भएको अनुभूति दिलाउन सकेनौँ र आर्थिक क्रान्तिको खाका कोर्न सकेनौँ भने यो परिवर्तन दिगो हुँदैन । त्यसकारण परिवर्तनको दिगोपनका लागि पनि आर्थिक समृद्धिको नयाँ खाका सुरु गर्नुपर्छ ।”
नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि परिवर्तनकारी शक्ति एक ठाउँमा आउनुपर्ने बताउनुभयो । “संविधानसभाबाट जारी संविधान, गणतन्त्र र सङ्घीयताको रक्षार्थ हामी एक ठाउँमा आएका छौँ”, उहाँले भन्नुभयो, “आगामी मङ्सिर ४ गते प्रतिगामी प्रवृत्ति पराजित हुन्छ, अग्रगामी शक्ति अगाडि आउँछ ।”
गणतन्त्रको जग दह्रो भएर समृद्धिको ढोका नखोलेसम्म अग्रगामी शक्तिबीचको एकता र सहकार्य आवश्यक रहेको जनाउँदै अध्यक्ष भटृराईले आसन्न निर्वाचन परिवर्तनका पक्षमा रहेका शक्तिबीच सहकार्यको नमूना हुने बताउनुभयो । कृषिप्रधान अर्थतन्त्रको विकास गर्दै पूर्वाधार निर्माणमा दलको ध्यान जानुपर्नेमा जोड दिँदै उहाँले पूर्वाधार निर्माणसँगै रोजगारी अभिवृद्धिका योजनालाई कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो ।
प्रतिकृया दिनुहॊस