आजऋषि पञ्चमी सप्तर्षीको पूजाआजा गरी मनाईंदै छ । सप्तऋषिको पूजा गर्ने भएकाले यस दिनलाई ऋषिपञ्चमी पर्व भनिएको शास्त्रमा उल्लेख छ । आज तीजको अन्तिम दिन पनि हाे । यसदिन महिलाहरुले अरुणधत्ती सहित सप्तऋषि कस्यप, अत्रि, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा आराधना गरी तीज ब्रत समापन गर्ने परम्परा रहेको छ ।
पन्चमीमा ब्रतालु महिलाले नदी, ताल, पोखरी लगायतका जलाशयमा ३ सय ६५ वटा दतिवनले दाँत माझेर चोखो माटो, तील र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याह्नमा सप्तऋषिको पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिने चलन रहिअाएकाे छ । आज नुहाएर पूजाआजा गर्ने, नरोपी उम्रेका अन्न, सामा, कागुनो, कन्दमूल र कर्कलो आदि खाने प्रचलन छ ।
पुराणमा उल्लेख भए अनुसार ब्रम्हहत्याको पाप मुक्ति तथा रजस्वला भएका अवस्थामा जानी नजानी भए गरेका पापजन्य कार्यबाट मुक्ति मिलोस् भनेर सप्तऋषिको पूजा गर्ने प्रचलन रहेको छ । सप्तऋषिहरु वशिष्ठ तथा पतिब्रता अरुणधत्तीको पूजा गर्नाले महिलाको रजोदोष लगायत अन्य सबै दोष नाश भएर यस लोकमा सम्बृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने विश्वास गरर्ने गरिन्छ । आज तीजको अनित्म दिन हाे ।




